मंसिर १६ गते सार्वजनिक बिदा

  २०८१ मंसिर १२ गते १६:००     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपनिर्वाचन हुने स्थानीय तहलाई यही मंसिर १६ गते सार्वजनिक बिदा दिने निर्देशन दिएको छ । निर्वाचन आयोगको पत्रानुसार मन्त्रालयले स्थानीय तहको निर्वाचन हुने सम्बन्धित् स्थानीय तहमा यही मंसिर १६ गते सार्वजनिक बिदा दिने निर्देशन दिएको हो ।

यही मंसिर ९ गते बसेको आयोगको बैठकले स्थानीय तहको उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सार्वजनिक बिदा दिन, तोकिएका मतदानस्थल उपलब्ध गराउन र सहजरुपमा मतदान गर्ने वातावरण बनाउन संघीय मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आयोगले मन्त्रालयमा पत्राचार पनि गरेको थियो ।

आयोगको पत्राचार अनुसार मन्त्रालयले उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगपत्रसहित निर्देशन दिएको हो ।

मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थलहरू निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहलाई भनिएको छ ।

मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको छ ।

यही मंसिर १६ गते आइतबार ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदै छ । आइतबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । बिहीबार मध्यरातिदेखि निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.