बैंकहरूको शाखा विस्तार बन्द, दुर्गमको कारोबार वृद्ध भत्तामा सीमित

  २०८१ मंसिर १३ गते १०:१९     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले विगतका एकै वर्षमा ११ सयभन्दा बढी नयाँ शाखा विस्तार गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा १ हजार ११७ वटा नयाँ शाखा खुलेका थिए भने आव २०७५/७६ मा १ हजार १० वटा नयाँ शाखा सञ्चालनमा आएका थिए । त्यसपछिका वर्षहरूमा पनि बैंकहरूले शाखा विस्तारमा जोड नै दिएको देखिन्छ । तर, पछिल्लो समय बैंकको शाखा विस्तार कार्य निकै सुस्ताएको छ ।

राष्ट्र बैंकका अनुसार विगत ११ वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय उच्च रूपमा बढेको छ । विसं २०७० असोजमा बैंक तथा वित्तीय संस्थाका २ हजार ५३३ वटा शाखा कार्यालय सञ्चालनमा थिए । जसमध्ये वाणिज्य बैंकका १ हजार ५०६, विकास बैंकका ७८१ र फाइनान्स कम्पनीका २४६ शाखा कार्यालय थिए ।

२०८१ असोजसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाका ६ हजार ४८८ वटा शाखा कार्यालय सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकका ५ हजार ६२, विकास बैंकका १ हजार १३७ र फाइनान्स कम्पनीका २८९ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

२०७० देखि २०७९ सालसम्म ९ वर्षमा शाखा विस्तार करिब १५५ प्रतिशतले वृद्धि भएको छ, जुन वार्षिक सरदर १७ दशमलव १६ प्रतिशत हो । तर, पछिल्लो तीन वर्षमा शाखा विस्तार शून्य दशमलव ०९ प्रतिशतमा झरेको छ ।

२०७९ असोजयता भने बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तार सुस्ताएको देखिएको छ । पछिल्लो तीन वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा जम्मा १९ वटा शाखा थपिएका छन् । जसमा वाणिज्य बैंकका १२ वटा शाखा कार्यालय घटेका छन् । विसं २०७९ असोजमा वाणिज्य बैंकका ५ हजार ७४ वटा, विकास बैंकका १ हजार १२१ वटा र फाइनान्स कम्पनीका २७४ शाखा सञ्चालनमा थिए ।

पछिल्लो समय शाखा विस्तार कार्य बैंकरहरूको प्राथमिकतामा छैन । अहिले डिजिटल बैंकिङ कारोबार ह्वात्तै बढेको छ । अहिले बैंकहरू शाखाभन्दा पनि डिजिटल कारोबार विस्तारमा केन्द्रित भएको बैंकर्सहरू बताउँछन् ।

आईसीएफसी फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अमित श्रेष्ठ डिजिटल बैंकिङले शाखा विस्तारमा बैंकहरूले चासो दिन छाडेको बताउँछन् । शाखा विस्तारभन्दा पनि डिजिटल बैंकिङमा बढी जोड दिने गरेको उनको भनाइ छ ।

‘बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न छाडेका छन्, सबै काम डिजिटलबाट हुन थालेपछि शाखा कार्यालय जरुरी नै भएन, त्यसैले बैंकहरूको शाखा विस्तारतर्फ ध्यान छैन,’ उनले भने, ‘हाल सञ्चालनमा रहेका शाखा कायम रहेपनि नयाँ शाखा विस्तारको योजना बैंकहरूको छैन, डिजिटल बैंक भएपछि शाखा विस्तार हुँदैनन् ।’

विगतमा राष्ट्र बैंकको बाध्यकारी नियमले बैंकहरूले शाखा विस्तार गरेको एक बैंकर बताउँछन् । संघीयता लागू भएसँगै एक पालिका एक बैंक शाखा नीति लागू गरिएको थियो ।  पछिल्लो समय मर्जर तथा डिजिटल कारोबार बढेका कारण बैंक तथा वित्तीय संस्थाको शाखा संख्या घटेको उनको भनाइ छ ।

‘विगतमा राष्ट्र बैंकको निर्देशनले बैंकहरूको शाखा संख्या बढ्यो, सबै स्थानीय तहमा बैंकको शाखा हुनुपर्छ भनेपछि बैंकहरू शाखा विस्तार गर्न बाध्य भए,’ उनले भने, ‘बैंकहरू मर्ज भएपछि एउटै ठाउँमा दुईटा शाखा सञ्चालनमा हुन पुगे, दुईवटा शाखालाई मर्ज गराएर एउटा मात्रै शाखा बनाए भने कतिपय ठाउँमा शाखा बन्द गरे, त्यसैले शाखा कार्यालयको संख्या कम देखिएको हो ।’

ती बैंकरका अनुसार अझै बैंकहरूको शाखा कार्यालय घट्नेछन् । डिजिटल कारोबार तीव्र रूपमा बढ्दै गएको छ, आरटीजीएस, भुक्तानी, कारोबारलगायत सबै काम डिजिटलबाट भएपछि अझै शाखा घट्ने उनको दाबी छ ।

‘विस्तारै हाल सञ्चालनमा रहेका शाखा पनि काम नलाग्ने हुन्छन्, दुर्गम क्षेत्रमा सञ्चालनमा रहेका बैंकका शाखा कार्यालय पुरै घाटामा छन्, ती शाखा कार्यालय वृद्ध भत्ता मात्रै बाँडिरहेका छन्, अन्य व्यवसाय नै छैन,’ उनले भने ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको लहलहैमा लागेर जति धेरै शाखा खोल्यो, त्यति धेरै वित्तीय पहुँच पुगेको मानिन्छ भन्ने भ्रममा राष्ट्र बैंक पनि परेकाले विगतमा शाखाको संख्या अत्यधिक बढेको बैंकका जानकारहरू बताउँछन् । तर, व्यवसाय गर्ने ठाउँ नहुँदा र लागत मात्रै बढ्दा कार्यालय बन्द गर्नतर्फ बैंकहरू लागि रहेका छन् ।

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकृत डा. भागवत आचार्य वित्तीय सेवाको पहुँच बढाउन विगतमा शाखा विस्तारमा जोड दिएको भएपनि अब सेवामा गुणस्तरीयता हुनुपर्ने बताउँछन् । साथै पछिल्लो समय कोरोना महामारी र आर्थिक मन्दीका कारण बैंकको सेवा विस्तारमा केही असर पुर्‍याएको हुन सक्ने उनको भनाइ छ ।

‘वित्तीय पहुँच बढाउन शाखा विस्तार गरिएको थियो, जसले बैंक तथा वित्तीय संस्थाहरूको सेवा विस्तार भयो । वित्तीय सेवा विस्तारको निश्चित सीमा हुन्छ, त्यसैले सेवा विस्तार पुगेको पनि हुन सक्छ,’ उनले भने, ‘विश्वव्यापी कोरोना महामारी, अर्थतन्त्रमा परेको मन्दीका कारण फाइनान्सियल हेल्थमा नकारात्मक असर पर्न थाल्यो, त्यसैले शाखा विस्तारमा ठेस लागेको हुन सक्छ ।’

शाखा विस्तारभन्दा पनि मर्जरमा जान थालेको र अर्थतन्त्रले माग नगरेका कारण शाखा विस्तार नभएको हुन सक्ने उनले बताए । डिजिटल कारोबारका कारण शाखा विस्तारभन्दा पनि सेवाको घनत्व विस्तारतर्फ बैंकहरू लागेको उनको बुझाइ छ ।

‘पहुँच भन्दा पनि सेवाको गुणस्तर अथवा संख्यात्मक विस्तारभन्दा गुणात्मक विस्तारमा जोड दिन थाले,’ सूचना अधिकृत आचार्यले भने, ‘पछिल्लो समय शाखा खोल्न अनुमति माग्ने फाट्टफुटट्ट आएका आउँछन्, विगतमा जस्तो उत्साह छैन किनभने लगानी विस्तारको अवस्था पनि छैन ।’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.