किसानलाई पालिकाले प्रति गाई १० हजार रुपैयाँ अनुदान दिने

  २०८१ मंसिर १३ गते १२:११     विकासन्युज

गुल्मी । गाईपालक किसानलाई गुल्मीको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई दश हजार रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाले उक्त अनुदान उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताए । सत्यवती गाउँपालिकाले चालु आर्थिक वर्षको पशुपक्षी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार सूचना सार्वजनिक गरी पालिकाभित्रका सबै वडाका किसानलाई अनुदानको बारेमा जानकारीसमेत गराएको छ ।

पालिकाले गत साउन १ गतेदेखि आगामी असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलो पटक ब्याएपछि उक्त रकम उपलब्ध गराउने जनाएको छ । त्यसका लागि किसानले गत असोज ५ गतेसम्म आफूले पालेको कोरेली गाई बाली भएको पालिकामा अनिवार्य रुपमा जानकारी गराउनुपर्ने उल्लेख छ ।

अनुदान प्राप्त गर्न पालिकामा निवेदनसहित नागरिकताको प्रतिलिपि, पहिलो पटक ब्याएको व्यहोरासहित तीन जना छिमेकीको हस्ताक्षरसहितको मुचुल्का, सम्बन्धित वडाको सिफारिस, माउ र बच्चा देखिने गरी खिचेको तस्बिर उपलब्ध गराउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिए । उनले निवेदकको बैंक खाता भएको चेकको प्रतिलिपि, पशु चिकित्सकको स्थलगत अनुगमनको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने बताए ।

किसानले अन्यत्रबाट किनेर ल्याएको गाईको हकमा भने उक्त नियम लागू नहुने भएकाले अनुदान प्राप्त गर्न किसानले अनिवार्य आफ्नै गोठमा हुर्काएको गाई हुनुपर्ने नियम बनाएको छ । पछिल्लो समयमा गाउँमा गाईपालन लोप हुन थालेसँगै सत्यवती गाउँपालिकाले गाईको संरक्षण गर्न उक्त अभियान सुरु गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.