२०८१ मंसिर १३ गते १३:२३ विकासन्युज
काठमाडाैं । सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सबीच सम्झौता सम्पन्न भएको छ। देशैभरि सञ्चालित सामुदायिक रेडियोहरूको व्यावसायिक क्षमता अभिवृद्धि र वित्तीय स्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुवै संस्थाबीच सहमति भएको हो।
संघको केन्द्रीय कार्यालय, चाकुपाट, ललितपुरमा बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले हस्ताक्षर गरे ।
आर्थिक मन्दीको कारण वित्तीय स्रोतको व्यवस्था नहुँदा धेरै रेडियोहरू क्रमश: समस्याग्रस्त हुँदैछन् । सामुदायिक रेडियो प्रसारक संघको लागि वित्तीय स्रोतको व्यवस्थापन तथा समस्याग्रस्त सदस्य रेडियोहरूको प्रभावकारी सञ्चालनमा सहयोग र सहकार्य गर्नेगरी संघ र नेक्सजेनबीच सम्झौता भएको नेक्सजेन म्यानेजमेन्टका प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिए ।
सामुदायिक रेडियो प्रसारक संघ, देशैभरि सञ्चालित गैर-नाफामूलक सामुदायिक रेडियोहरूको छाता संगठन हो । संघको नेटवर्कमा अहिले ३५० वटाभन्दा बढी रेडियोहरू आवद्ध छन् । संघले आफ्ना सदस्य रेडियोहरूको सुसञ्चालन, वित्तीय स्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ ।
नेक्सजेन म्यानेजमेन्ट विशेषज्ञ सेवा दिने गरी सञ्चालित कम्पनी हो । यसले सम्पत्ति व्यवस्थापनसम्बन्धी काम र व्यावसायिक परामर्श दिने काम गर्छ । छोटो अवधिमा यसले देशी विदेशी कम्पनीहरूसँग सम्झौता र सहकार्य गरी सेवा दिँदै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.