२०८१ मंसिर १३ गते १३:३८ विकासन्युज
काठमाडौं । भाषा विज्ञान नेपालको ४५ औं अन्तराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् ।
दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरू मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् ।
मंसिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरू नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत भएका हुन् ।
‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले आवार्ड जितेका हुन् ।
‘बहुभाषिक कक्षाकोठमामा सिकाईमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रूपात्मक तथा वर्णनात्मक प्रेरणार्थक संकेतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले आवार्ड पाएका हुन् ।
हरेक वर्षको अंग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउँछन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरूले पाउँछन् ।
डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भीमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मूल्याङ्कन समितिले उनीहरूलाई आवार्डका लागि सिफारिस गरेको थियो ।
सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायतलगायत १० देशका भाषा वैज्ञानिकहरूको सहभागिता थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.