राहुलले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि, तोरण एक स्ट्रोकले पराजित

  २०८१ मंसिर १३ गते १८:२८     विकासन्युज

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन् । अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरणविक्रम शाहीलाई एक स्ट्रोकले माथ दिएका हुन् । राहुलको सूर्य नेपाल गल्फ टुरमा करिअरको यो पहिलो उपाधि हो ।

गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन-पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अन्डर २७७ सहित दोस्रो भए । प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य भने समग्रमा ७-अन्डर २८१ सहित तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए ।

समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे । निरजले आज १-ओभर ७३ र भुवनले २-अन्डर ७० मा खेल सकाए । प्रोफेसनलतर्फ संयुक्तरूपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी, समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए । सुनिलले २-अन्डर ७० र जयरामले इभन-पार ७२ को स्कोर दर्ज गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए ।

यसैगरी, समग्रमा ३-ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए। उनले आज इभन-पार ७२ मा खेल पुरा गरे । ४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौं भए । अन्तिम दिन सञ्जयले इभन-पार र भुवनले १-ओभर ७३ को स्कोर दर्ज गरे। उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे । आज एमेच्योर गजेन्द्र गुरुङले १०औं होलमा होल-इन-वानको सफलता प्राप्त गरे।

अन्तिम १८ होलको खेल सुरु गर्दा राहुल र सदभाव विरुद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । उपाधि जित्ने संभावना तोरणको उच्च थियो । तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरेर उपाधि आफ्नो पोल्टामा पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.