२०८१ मंसिर १५ गते ११:०३ विकासन्युज
काठमाडौं । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ ।
आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ ।
उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२ केभीए क्षमता) मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
सिरिजङ्घा-८ याम्फुदिनको राते खोलामा अवस्थित विद्युत गृहबाट अमरपुर सब-स्टेसनसम्मको करिब ३१ किलोमिटर दूरीमा रहेका प्रसारण लाइनको परीक्षण पनि सफल भएको छ । सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना स्नो रिभर्स लिमिटेडले निर्माण गरेको हो ।
वि.सं २०७९ मङ्सिर अन्तिम साताबाट सुरु भएको आयोजना छोटो अवधिमै सम्पन्न भएको जनाइएको छ । करिब २ अर्ब ६३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो आयोजना क्षेत्रीय ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आयोजनाको मुख्य लगानीकर्ता एनएमबि बैंक भई वित्तीय व्यवस्थापन गरेको थियो । यो आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।
सोही क्षेत्रमा काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले २१.१३ मेगावाट क्षमताको अर्को जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । यसले स्थानीय र राष्ट्रिय ऊर्जा उत्पादनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.