२०८१ मंसिर १७ गते १३:३१ विकासन्युज
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सहज ऋण उपलब्ध गराउने कार्यविधिको मस्याैदा अन्तिम चरणमा पुगेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधिको मसौदा अन्तिम चरणमा पुगेको जनाएको हो ।
मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले कार्यविधिको मसौदा अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले विकासन्यूजसँग कुरा गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी वैदेशिक रोजगारमा जानेहरूका लागि चाँडै नै बिना धितो ऋणको व्यवस्था गर्ने बताए ।
वैदेशिक रोजगारीमा जाने श्रमिक मिटरब्याजको चपेटामा नपरुन् भनेर सरकारले बिनाधितो ऋण उपलब्ध गराउने तयारी गरिरहेको हो ।
गन्तव्य देशको लागत खर्च तोकेर बैंकबाट बिनाधितो ऋणको प्रक्रिया अगाडि बढाइएको उनकाे भनाइ छ । विदेशबाटै २ वर्षमा २४ किस्ता बुझाएर ऋण चुक्ता गर्ने व्यवस्था मस्याैदामा छ । बैंकबाट सहज रूपमा ऋण पाउँदा लागत खर्च घट्ने र ठगीको घटनासमेत न्यूनीकरण हुने सरकारकाे विश्वास छ ।
वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजका कारण धेरै मर्कामा परेको भन्दै सरकारले बजेट वक्तव्यबाटै सरकारले सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउने घोषणा गरेको थियो । सोही घोषणाअनुसार सरकारले बिनाधितो ऋण उपलब्ध गराउन लागेको हो ।
गत साउन ११ गते नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने मौद्रिक नीतिमार्फत घोषणा गरेको थियो ।
बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उल्लेख भएअनुसार बैंक खातामा विप्रेषण पठाउने प्रतिबद्धता गरे बिनोधितो कर्जा दिने व्यवस्था गर्ने गभर्नर महाप्रसाद अधिकारीले घोषणा गरेका थिए ।
मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यसअघि तत्कालीन प्रदेश २ सरकारले वैदेशिक रोजगारीमा जानेहरूका लागि बिना धितो सहुलियत ऋण दिएको थियो । तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको विशेष पहलमा ऋण सहुलियत दिइएको थियो ।
वैदेशिक रोजगारीमा जाँदा जुन बैंकबाट ऋण लिइन्छ, सोही बैंकमा नै तलब जम्मा गर्नुपर्ने हुन्छ । जम्मा भएको तलबबाट बैंकले आफ्नो किस्ताको रकम काट्छ अनि बाँकी रकम खाताबाट निकाली कारोबार गर्न सकिन्छ ।
विगतमा बैंकहरुले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि बिना धितो ऋण उपलब्ध गराएका थिए । यस्तो ऋणको अवधि कुल १८ महिनाको हुने गरेको थियो । ऋण लिनका लागि व्यक्ति २१ वर्ष पुगेको हुनुपर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.