२०८१ मंसिर १७ गते १५:०१ सीआर भण्डारी
काठमाडौं । पसलको नाम ईन्द्र ज्वेलर्स सुनचाँदी । व्यवसायीको नाम सोहिल शाक्य । ठेगाना सिपाडोल, भक्तपुर । दर्ता व्यवसाय सुनचाँदीको कारोबार । धन्दा भने नक्कली नोट उत्पादन । सुन्दा पत्यार नलाग्ने सोहिल शाक्यलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कात्तिक २० गते पक्राउ गर्यो ।
नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार समेत भइरहेको भन्ने विशेष सूचना प्रहरीले पायो । लगत्तै प्रहरीको टोली खटिई जाँच र अनुसन्धान कार्य अघि बढायो । सीआईबीबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका- ८ सिपाडोलस्थित शाक्यले सञ्चालन गरेको ईन्द्र ज्वेलर्स सुनचाँदी पसलमा छापा मार्यो ।
त्यस क्रममा राष्ट्र बैंकबाट जारी गर्दा उल्लेख हुने विवरण समेत भएको र राष्ट्र बैंकले निकालेको हो भन्ने भान वा विश्वास हुने गरी अनधिकृत रूपमा नेपाली नोट एक हजार र पाँच सय दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली नोटहरू फेला पर्यो । सीआईबीका प्रहरी उपरीक्षक तथा प्रवक्ता होविन्द्र बोगटीका अनुसार खानतलासीको क्रममा एक हजार रुपैयाँ दरका ११३ थान र ५ सय दरका २८ थान नोट नक्कली बरामद गर्यो ।
यस्तै, गत जेठ २७ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई कलंकीको एउटा चिया पसलमा नक्कली नोटको कारोबार भइरहेको सूचना आयो । सूचना पाएपछि प्रहरी टोली पसलमा पुग्यो । बाहिरबाट हेर्दा सामान्य चिया पसलजस्तो देखिए पनि भित्र नक्कली नोटमा कारोबार भइरहेको प्रहरीले भेट्यो । एक हजार दरका ५१४ वटा नक्कली नोटसहित प्रहरीले कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठलाई पक्राउ गर्यो ।
यस्तै, वि.स २०८० माघ २९ गते ट्राफिक प्रहरीले सवारी साधन चेकजाँच गरिरहेको थियो । यत्तिकैमा बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कारपियो आयो । शंकास्पद लागेपछि प्रहरीले स्कारपियोमा खानतलासी गर्यो । खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ नेपालमा ल्याउँदै गरेका नक्कली १ हजार दरका १ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरका नोटहरू बरामद गर्यो । साथै, एक जना भारतीय नागरिकलाई समेत प्रहरीले पक्राउ गर्यो ।
यस्तै, विसं २०८० भदौमा उपत्यका अपराध अनुसन्धान कार्यालयलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचना आयो । कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले एक हजार दरका १ सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका-४ धारापानीका ३८ वर्षीय गौरव थापालाई प्रक्राउ गर्यो।
यस्तै, विसं २०८० साउन २५ गते नागढुंगा चेकपोष्टमा लु १ प ५ नम्बरको पर्यटक बस आयो । बस चेकजाँच गर्दा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरिएको अवस्थामा नक्कली नोट बरामद गर्यो । बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप नक्कली नोट बरामद गर्यो । नोट कारोबारमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली पक्राउ परे । साथै, सुवेदीको डेराबाट नक्कली नोट छाप्ने कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद भयो ।
यी केही प्रतिनिधिमूलक घटनामा मात्रै हुन् । नेपाली बजारमा नक्कली नोट भेटिने क्रम बढ्दो छ । विगत पाँच वर्षको तथ्याङ्कअनुसार नेपालमा साढे ६ करोड रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएका थिए । नेपाल प्रहरीका अुनसार पाँच वर्षमा नक्कली नोट कारोबारका २३८ वटा मुद्दा परेका छन् भने ४२२ जनालाई समेत पक्राउ गरिएको छ । नक्कली नोट कारोबारको आरोपमा पाँच वर्षको अवधिमा ३४१ नेपाली पुरुष, २९ जना, नेपाली महिला, ५० जना विदेशी नागरिक र २ जना विदेशी महिला पक्राउ परेका हुन् ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नक्कली नोट सम्बन्धि २२ वटा मुद्दा र ३२ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा २२ जना नेपाली र १० जना विदेशी पक्राउ गरिएको थियो । सो वर्ष विभिन्न दरका ११ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । साथै सोही वर्ष २ लाख २ हजार १ सय रुपैयाँ भारतीय दरका नक्कली नोट पनि बरामद गरिएको प्रहरीको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७७/७८ मा २५ वटा मुद्दा रहेकोमा ४४ जना पक्राउ परेका थिए । जसमा ३६ जना पुरुष, १ जना महिना, ६ जना विदेशी पुरुष र १ जना विदेशी महिला थिए । साथै, ३४ लाख १६ हजार रुपैयाँ बराबरका नेपाली नक्कली नोट र भारतीय दरका ५ सय रुपैयाँ नक्कली नोट बरामद गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ७८ वटा मुद्दा परेकोमा १०२ जना पक्राउ गरिएको प्रहरीको तथ्याङ्क छ । जसमध्ये ७८ जना नेपाली पुरुष, ११ जना नेपाली महिला र १३ जना विदेशी पुरुष थिए । साथै, प्रहरीले ३७ लाख ६९ हजार ७२० रुपैयाँ नेपाली नक्कली नोट र २ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय दरका नक्कली नोट बरामद गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा ६३ वटा मुद्दा र १०६ जना पक्राउ परेका थिए । जसमा८३ जना नेपाली पुरुष, १० जना नेपाली महिना, १२ जना विदेशी पुरुष र १ जना विदेशी महिना नागरिक पक्राउ पपरेका थिए । साथै ५१ लाख ६० हजार ५ रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको थियो । भारतीय दरका नक्कली नोट ७ हजा ९४० रुपैयाँ र २६ हजा ८ सय डलर समेत बरामद गरेको प्रहरीको तथ्याङ्क छ ।
यस्तै, आर्थिक वर्ष २०८०/८१ मा नक्कली नोटका ७१ वटा मुद्दा र १३८ जना पक्राउ परेका थिए । जसमध्ये ११ जना नेपाली पुरुष, ७ जना नेपाली महिना र १ जना विदेशी पुरुष थिए । साथै, गत वर्ष ५ करोड ८ लाख ७३ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरेको थियो । भारतीय दरका नक्कली नोट भने ४३ हजार ९२० रुपैयाँ र २७ हजार ७४० डलर बरामद गरेको थियो ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपाली १ हजार ५ सय, १ सय र ५० रुपैयाँ दरका, भारू (भारतीय रूपैयाँ) २ हजार १ हजार ५ सय र १ सय दर र डलर १ सय र ५० दरका नक्कली नोट बढी भेटिएका छन् ।
तथ्याङ्क हेर्दा नेपालमा प्रत्येक वर्ष नक्कली नोटको कारोबार बढेको देखाउँछ । भारतमा नक्कली नोटको कारोबार बढ्दा ५ सय र १ हजार दरका नोट प्रतिबन्ध नै गरेको थियो । नेपालमा पनि बेलाबखत नोट प्रतिबन्ध गराएर नयाँ नोट छाप्नु पर्ने आवाज उठ्ने गरेको छ । तर, अर्थतन्त्र नै प्रभावित हुने गरी बजारमा नक्कली नोट नरहेको नेपाल प्रहरीका प्रवक्ता एंव प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की बताउँछन् ।
डिजिटल कारोबार र वित्तीय सचेतनासँगै नक्कली नोटको कारोबार नियन्त्रण हुनुपर्ने हो । बैंक, नेपाल राष्ट्र बैंक र सरकारी निकायले वित्तीय सचेतनाका विभिन्न कार्यक्रम गरिरहेका छन् । तर, पनि नक्कली नोटको कारोबार बढ्दा चिन्ताको विषय बनेको छ ।
राष्ट्रिय वाणिज्य बैंका उपकार्यकारी अधिकृत (डीईओ) पवन रेग्मी नक्कली नोटको कारोबारलाई निरुत्साहित गर्न डिजिटल कारोबारमा जोड दिनुपर्ने बताउँछन् । बैंकिङ कारोबारमा नक्कली नोट आएपछि तत्कालै पत्ता लाग्ने गरेको तर बैंकको पहुँचभन्दा बाहिर हुने कारोबारमा नक्कली नोट बढी प्रयोग हुने गरेको उनको भनाइ छ ।
‘जहाँ अनौपचारिक कारोबार हुन्छ, त्यहाँ बढी नक्कली नोटको प्रयोग भएको देखिन्छ, अनौपचारिक रूपमा हुने कारोबार बैंकलाई जानकारी हुँदैन, त्यसको नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम नै गर्नुपर्छ, मुद्रा कसरी चिन्ने भनेर जनतालाई जानकारी गराउनुपर्छ,’ डीईओ रेग्मीले भने, ‘बैंकमा नक्कली नोटको कारोबार भइ आएपछि पत्ता लगाइहाल्छ । र, तत्काल राष्ट्र बैंकलाई रिपोर्ट गरिन्छ ।’
उनका अनुसार बैंकिङ माध्यममा नक्कली नोट फाट्टफुट्ट आउने गरेका छन् । अनौपचारिक हुने कारोबारमा बैंकको पहुँच नहुने भएकाले कसरी कारोबार हुन्छ भन्ने जानकारी बैंकलाई नहुने उनले बताए । तर, कहिले काहीँ म ठगीए कि वा नक्कली कि सक्कली हो भनेर नोट चेकजाँच गर्न बैंकमा आउने गरेका उदाहरण रहेको उनको भनाइ छ ।
‘विदेशी नक्कली नोट पनि कारोबार भइरहेको सुनिन्छ, नक्कली नोट चिन्ने मेसिन बैंकहरूले खरिद गरेका हुन्छन् । तर, सर्वसाधारणलाई थाहा हुँदैन, विदेशी नोट कारोबार अनौपचारिक माध्यमबाट गर्दा नक्कली पर्ने सम्भावना धेरै हुन्छ । त्यसैले बैंकमा गएर नै विदेशी नोट साट्नु उपयुक्त हुन्छ,’ डीईओ रेग्मीले भने ।
पूर्वबैंकर बिएन घर्ती मान्छेलाई छिटो धनी हुने दिवास्वप्नाले नक्कली नोटको कारोबार बढेको हुन सक्ने बताउँछन् । नक्कली नोट नियन्त्रणका लागि कडा कानुनी कारवाहीको व्यवस्था भएपनि प्रचारप्रसार कम रहेको उनको भनाइ छ ।
‘विगतमा राष्ट्र बैंकले जनचतेनामूलक काम गर्थ्यो । तर, पछिल्लो समय राष्ट्र बैंकले कम गर्न थालेको छ, बैंकहरूले कसरी बचत गर्ने, कसरी कर्जा लिने भनेर बैंकका प्रडक्ट र सेवाका विषयमा प्रचारप्रसार गरेको देखिन्छ, नक्कली नोट चिन्ने विषयमा वित्तीय साक्षरता कार्यक्रम भएका छैनन्,’ उनले भने ।
उनका अनुसार डिजिटल कारोबारका जोखिम रहेपनि नक्कली नोट कारोबार कम गर्न भने डिजिटल कारोबार नै उपयुक्त माध्यम हुन सक्छ । नक्कली नोटको कारखाना बन्न नदिन व्यापक प्रचारप्रसार गरिनुपर्ने उनले बताए ।
‘आगोले पोल्छ है भनेपछि बच्चाले आगो छुँदैन, त्यसैले नक्कली नोटको कारोबारसम्बन्धि यस्ता कानुनी व्यवस्था छन् भनेर जानकारी गरायो भने कम हुन्छ, त्यसैले जति जनचेतनाका कार्य हुनुपर्ने त्यति भएको छैन,’ पूर्वबैंकर घर्तीले भने ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेल बैंकिङ च्यानलमा आएका नक्कली नोटका विषयमा मात्रै चिन्ता र चासो दिने गरेको बताउँछन् । बैंकिङ प्रणालीभन्दा बाहिर अनौपचारिक रूपमा भइरहेको कारोबारलाई प्रहरी प्रशासनले हेर्ने उनको भनाइ छ ।
‘बैंकिङ माध्यमबाट आएका नक्कली नोट चेक गर्ने, परीक्षण गर्ने, कहाँबाट आयो, कसले ल्यायो भनेर हेरिन्छ, इजाजतपत्र प्राप्त संस्थाबाहेकको बजार, व्यक्ति कसैले नक्कली नोट लिएको वा चलाउनु भएको छ, जानेर वा नजानेर भने त्यसको सम्बन्धित निकायले हेर्छ,’ उनले भने ।
नक्कली नोटको संख्या बढेको छ भने नेपाल राष्ट्र बैंकले जारी गर्ने नोटमा सेक्युरिटी फिचर बढाउने उनको भनाइ छ । उनका अनुसार नक्कली नोटका विषयमा अनुसन्धान गर्ने, कानुनी कारवाही अघि बढाउने कार्य प्रहरीको हो । नक्कली नोट बैंकका लागि पनि घाटा हुने भएकाले बैंकरहरू सजग र सचेत रहेको प्रवक्ता पाैडेलले बताए ।
‘ठूला दरका नोटमा सेक्युरिटी फिचर बढी हुन्छ, साना दरका नोटहरू धेरै नक्कली हुँदैनन्, त्यसैले ५ रुपैयाँ दरका नोट छाप्दा र १ हजार रुपैयाँ दरका नोट छाप्दा लागत फरक हुन्छ, एक हजार दरका नोटमा बढी लागत लाग्छ । किनभने सेक्युरिटी फिचरहरू बढी राखिएका हुन्छन्,’ उनले भने, ‘नोटको कारोबार गर्ने विभाग, बढी नोट कारोबार हुने ठाउँ, न्यूरोडमा बढी आउँछ कि दरबारमार्गमा बढी आउँछ, जहाँ बढी नगदको कारोबार हुन्छ, त्यहाँ नक्कली नोटको प्रयोग पनि हुन सक्छ । त्यसको निरीक्षण गर्न राष्ट्र बैंकको संयन्त्र तयार छ ।’
नेपाल प्रहरीका प्रवक्ता कार्कीका अनुसार विगतमा भारतीय नक्कली नोटको कारोबार नेपाली बजारमा हुने गरेको र नेपाली बजार हुँदै भारततिर जान्थ्यो । अपराधीहरू भारतीय मुद्रालाई प्रयोग गर्न थालेपछि भारत सरकारले गम्भीरतापूर्वक लिएपछि डिमोनिटाइजेशन (नोटबन्दी) गर्यो ।
भारतले नोटबन्दी गरेपछि नेपाली बजारमा भारतीय नक्कली कारोबार घट्यो भने नेपाली नक्कली नोट बढ्न थालेको उनको भनाइ छ।
‘विगतमा भारतीय नोटको चलन भएपनि पछिल्लो समय घटेको देखिन्छ, म काठमाडौं प्रहरी प्रमुख हुँदा पनि ५७ लाख नक्कली नोट बरामद भए, सीमावर्ती क्षेत्रमा नक्कली नोट बरामद भइरहेका छन्,’ नेपाल प्रहरीका प्रवक्ताले भने, ‘ग्रामीण भूभागमा गड्डीमा एकाध नोट घुसाउने र कारोबार गर्न खोजिएको देखिन्छ, ती गिरोहहरू मूलतः नेपालको सीमावर्ती क्षेत्रमा मेसिन राखेर नक्कली नोट उत्पादन गरेको पाइन्छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.