प्रमुख प्रशासकीय अधिकृत नहुँदा कचनकवल गाउँपालिकाको काम ठप्प

  २०८१ मंसिर १७ गते १६:१९     विकासन्युज

बनियानी । झापाको कचनकवल गाउँपालिका विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ २४ गते सरुवा भएर गएपछि भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुण्यप्रसाद पौडेल हाजिर भएका थिए ।

उनको समेत गत कात्तिक ९ गते सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो ।

‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम प्रभावित भएको छ’, अध्यक्ष राजवंशीले भने, ‘गाउँपालिकाको काम ठप्पजस्तै बनेको छ ।’

गाउँपालिकाले आह्वान गर्नुपर्ने बोलपत्रदेखि अन्य दैनिक प्रशासनिक काम गर्न नसकिएको उनले बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग गरेपनि हालसम्म नपठाएको उनले गुनासो गरे ।

आवश्यक निर्णय गर्ने, प्रमाणीकरण गर्ने, योजना आह्वान, सम्झौतालगायतका लागि प्रमुख प्रशासकीय अधिकृत अनिवार्य भएकाले मारमा परेको अध्यक्ष राजवंशी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.