आराधना कम्प्लेक्समा सुट मेला, ग्राहकलाई आकर्षक छुटदेखि विदेश भ्रमणसम्मको मौका

  २०८१ मंसिर १७ गते १८:३१     विकासन्युज

काठमाडौं । काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै मेला सुरु भएको जानकारी दिएको हो । मंसिरबाट सुरुमा भएको सर्टिङसुटिङ वस्तुको मेला २०८२ वैशाख २५ गतेसम्म चल्ने जनाइएको छ । नेपालमा सर्टिङसुटिङ मेला पहिलोपटक आयोजना गरिएको महासंघले जनाएको छ ।

ग्राहकलाई उच्च गुणस्तरको सर्टिङ सुटिङ कपडाका दर्जनौं विकल्प एकै ठाउँमा उपलब्ध गराउने तथा आम सर्वसाधारणमा व्यक्तित्व निर्माणमा सर्टिङसुटिङको महत्त्व बुझाउने उद्देश्यले मेला सुरु गरेको मेला संयोजक अर्जुन बस्नेतले जानकारी दिए । यो मेलाले सुटमा आएको नयाँ डिजाइनबारे पनि ग्राहकलाई जानकारी गराउनेछ ।

विवाहको सिजनमा दूरदराजबाट सुट सिलाउन काठमाडौं आउनेलाई मेला सहयोगी हुने आयोजकको विश्वास छ । मेलामा आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहेका छन् । 

मेलामा सहभागी व्यवसायीले मेलाका अवसरमा कपडा र सिलाइमा ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने हुँदा ग्राहकका लागि यो एउटा अवसर सावित हुने अपेक्षा गरेका छन् । बस्नेत भन्छन्, ‘मेलामा अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका इटालियन, इङ्ग्ल्यान्ड, बैङ्कक, भारतलगायत देशमा उत्पादित उच्च गुणस्तरको फेब्रिक विकल्प एउटै छानामुनि उपलब्ध हुने जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं ।’

मेलामा सहभागी व्यवसायीले मेला अवधिमा कपडा खरिद गर्ने र सिलाउने ग्राहकमध्येबाट गोलाप्रथामार्फत विजेता चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यको भ्रमण गराउने अफरसमेत राखेका छन् ।  यसबाट ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत थोरबहुत योगदान हुने आयोजकको विश्वास छ ।

यो मेलाको अर्को उद्देश्य आर्थिक मन्दीका कारण शिथिल भएको व्यवसायलाई गति दिनु रहेको छ । यसले सर्टिङसुटिङ व्यवसायलाई चलायमान गराई रोजगारीका अवसर सिर्जना र सरकारी राजस्वमा पनि योगदान गर्ने महासंघको भनाइ छ । महासंघले अर्थतन्त्रमा देखिएको हालको शिथिलता चिर्न सरकार र निजीक्षेत्रबीच गहिरो सहकार्य आवश्यक रहेकोमा पनि जोड दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.