२०८१ मंसिर १८ गते ७:०० विकासन्युज
काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आईपीओ निष्काशन प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए ।
९० करोड रुपैयाँ अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्ता पुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।
यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको छ ।
अब नेपाल धितोपत्र बोर्डमा आर्इपीओ निष्काशनको अनुमतिका लागि आवेदन दिने अध्यक्ष निराजन थापाको भनाइ छ । काठमाडौंको बुढानिलकण्ठ ६,गणेश चोकमा रहेको होटेल सब्रिनाले क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नती गर्नका लागि आईपीओ जारी गर्न लागेको हो ।
साथै कम्पनीको कर्जालाई चुक्ता गर्ने लक्ष्य रहेको अध्यक्ष थापा बताउँछन् । अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दैछ ।
होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो ।
हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको ‘रिजेन्टा प्लेस’ ब्राण्डले गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.