२०८१ मंसिर १८ गते ९:१७ विकासन्युज
काठमाडौं । विगत केही दिन देखि विविध कारणले आपूर्तिकर्ताले समयमा आपूर्ति गर्न नसकेको कारण नेपाल टेलिकमका रिचार्ज कार्डहरु बजारमा सहज रुपमा उपलब्ध हुन नसकेकोमा उक्त समस्या समाधान भएको नेपाल टेलिकमले जनाएको छ । हाल पूर्ववत रिचार्ज कार्डहरु बजारमा उपलब्ध भईसकेको उल्लेख गरेको छ ।
कम्पनीले केही सञ्चार माध्यमहरुमा रिचार्ज कार्डको अभावको कारणले नेपाल टेलिकमको राजश्वमा कमी आई व्यापार घाटा भएको भनी भ्रामक समाचारहरु प्रकाशन/प्रसारण भएको भन्दै उक्त समाचारहरुमा कुनै सत्यता नरहेको समेत जिकिर गरेको छ ।
रिचार्ज कार्डको सहज रुपमा आपूर्ति हुन नसकेको अवस्थामा पनि ग्राहकहरुले रिचार्ज कार्डको विकल्पको रुपमा रहेका मोबाइल पोइन्ट अफ सेल्स (एमपोस) र नमस्ते पे, ईसेवा, खल्ती र आइएमईपे लगायतका डिजिटल वालेटहरु प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गरिरहेको बताएको छ ।
रिचार्ज कार्डको अभावको कारणले कम्पनीको व्यापार र राजश्वमा कुनै नकारात्मक प्रभाव नपरेको कम्पनीका प्रवक्ता हरि ढकालले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.