२०८१ मंसिर १८ गते १४:२३ विकासन्युज
काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री, अर्थमन्त्री वा उच्च अधिकारीसँग बस्दा गभर्नर महाप्रसाद अधिकारी एउटा आइडिया सुनाइहाल्छन्- ‘काठमाडौंको एउटा ठाउँमा घर बनाऔं, सस्तैमा बेचौं, यसले अर्थतन्त्रमा एक किसिकको रिभाइभ ल्याउँछ ।’ उनले सरकारी उच्च अधिकारीसँग मात्रै होइन, सार्वजनिक कार्यक्रममा पनि सो आइडियालाई प्रस्तुत गर्न थालेका छन् ।
गभर्नर अधिकारी पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताले चिन्तित छन् । कागजमा अर्थतन्त्र सन्तोषजनक भने पनि उनले अर्थतन्त्र सही ट्र्याकमा नभएको औंल्याएका छन् । समस्यामा रहेको अर्थतन्त्रलाई कसरी लयमा ल्याउने होला ? भन्ने विषयको जवाफ उनी आफैंभित्र खोजिरहेका छन् ।
नेपाल राष्ट्र बैंकबाट हुन सक्ने नीतिगत सहजता उनले गरिसकेका छन् । मौद्रिक नीतिबाट दिनसक्ने राहत र सुविधा दिइसकेका छन् । ती सुविधापछि पनि निर्माण तथा घरजग्गा क्षेत्र चलायमान हुन नसकेपछि अब कसरी अगाडि बढ्ने, अर्थतन्त्रको प्राण कसरी दिनेभन्ने विषयमा सोचिरहन्छन् ।
गभर्नरका रूपमा आफ्नो कार्यकाल सकिन केही महिनामात्रै बाँकी रहँदा अर्थतन्त्र सुधारको बाटो देखाएर बाहिरिन चाहन्छन् उनी । थला परेको अर्थतन्त्रलाई यही हालतमा छोडेर बाहिरिन उनको मनले मानेको छैन । त्यसैले पनि उनी अहिले सरकारी उच्च अधिकारीसँगको छलफलमा आफ्नो आइडिया बताइहाल्छन् ।
केही दिनअघि काठमाडौंमा भएको एउटा सार्वजनिक कार्यक्रममा गभर्नर अधिकारीले सो आइडिया सार्वजनिक गरे । आन्तरिक छलफल तथा नीतिगत तयारीका विषयले पूर्णता नपाउँदा सार्वजनिक कार्यक्रममा बोल्न नरुचाउने उनले त्यो दिन भने आफूले उच्च अधिकारीहरुसँग सस्तोमा घर बनाएर बिक्री गर्ने आइडियाकाे विषयमा छलफल गरेकाे मञ्चबाटै उद्घोष गरे ।
उनले पछिल्लो समय घरजग्गा व्यवसाय समस्यामा परेको बताउँदै सो क्षेत्रलाई सुधारको लागि आफ्नो आइडियाले केही हदसम्म काम गर्ने धारणा राखे । उनले घरजग्गाको मूल्य नघट्दासम्म आर्थिक गतिविधि चलायमान हुन नसक्ने पनि बताए ।
उनले कार्यक्रममा भनेका थिए, ‘काठमाडौंमा ५/६ करोड कमको घर पाइँदैन । मान्छेको क्षमता १ करोडभन्दा कम छ, क्षमता कम भएको मान्छेले ४/५ करोडको घर किन्न सक्दैनन्, सरकारले घर बनाएर ५० लाख रुपैयाँमा बेच्न सक्यो भने यहाँ जसले पनि घर किन्छ, अर्थतन्त्र पनि चलायमान हुन्छ ।’
गभर्नर अधिकारीले सरकारले घर बनाएर बिक्री गर्न सके सहजै आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार, उपत्यका विकास प्राधिकरण र सहरी विकास मन्त्रालय लगायत निकायको समन्वयमा यो काम गर्न सकिने उनको भनाइ छ । उनले सेयर बजार र गाडीपछि लागेर अर्थतन्त्र सुधार नहुने विषय पनि प्रष्ट पारे ।
उनले उपत्यकाको कुनै कुनामा ५० लाख पर्ने १० हजार घर बनाएर बिक्री सुरु गर्यो भने सरकारलाई पनि फाइदा, घर किन्नेलाई पनि फाइदा र यसले समग्र अर्थतन्त्रमा पनि टेवा पुग्ने धारणा राखे । आफूले एक जना इन्जिनियरलाई हिसाब गर्न लगाउँदा प्रतिघर ४२ लाखमा बनाउन सकिने हिसाब निस्केको बताए ।
‘एकै पटक हजार घर बनाउँदा १५ अर्ब बढीको सिमेन्ट बिक्री हुन्छ, सोहीबराबर स्टिल र इँटा बिक्री हुन्छ, हजारौंले रोजगारी पाउँछन्, अर्थतन्त्रमा स्वतः राहत मिल्छ,’ उनले भने । यसले समग्र क्षेत्रमा आर्थिक चलायमान हुने धारणा उनकाे छ ।
यस विषयमा सरकारी अधिकारीहरूले पनि चासो दिइएको बुझिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.