मादक पदार्थ सेवन गरी उपप्राध्यापकले मरणासन्न हुने गरी पिटे श्रीमती

  २०८१ मंसिर १८ गते १७:०४     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टले मादक पदार्थ सेवन गरी श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । घाइते  श्रीमतीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

श्रीमती जयन्ती भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा  रहेका महेन्द्रनगर माध्यमिक विद्यालयमा कार्यरत अङ्ग्रेजी विषयकी शिक्षिका हुन् । देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला उपप्राध्यापकले नै श्रीमती कुटेका हुन् ।  

उपप्राध्यापक भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमती कुटपिट गरेका उपप्राध्यापकमाथि ज्यान मार्ने उद्योगमा किटानी  जाहेरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

यसैबीच यो घटनालाई लिएर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी संघसंगठनले घटनाको भर्त्सना गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विभिन्न विद्यार्थी सङ्गठनले प्रेस विज्ञप्ति निकाल्दै घटनाको घोर भर्त्सना गरेका हुन् । उनीहरूले दोषी शिक्षकलाई कानुनअनुसार कारवाही गर्न पनि माग गरेका छन् ।  

‘सबैखाले हिंसा न्यूनीकरण गर्न अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उपप्रध्यापक जस्तो जिम्मेवार र गरिमामय पदमा बसेको व्यक्तिबाट नै यसरी मदिरा सेवन गरी आफ्नै श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने कार्य एकदमै निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन हुन सम्बन्धित सबै पक्षहरूसँग यसै प्रेस विज्ञप्तिमार्फत जोडदार अपील गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.