२०८१ मंसिर १८ गते १८:३३ विकासन्युज
काठमाडौं । ऊर्जा सिँचाइ तथा जलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित आयोजनाहरूको प्रगति भएको बताएका छन् ।
नेपाल कला परिषद्को हलमा मंगलबार ऊर्जा क्षेत्रमा नेपाल सरकार तथा एसियाली विकास बैंकबीच ५ दशकको सहकार्य शीर्षकमा फोटो प्रर्दशनी कार्यक्रममा बोल्दै उनले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एडीबीले पाँच दशक गरेको सहयोगप्रति धन्यवाद दिए ।
राज्यमन्त्री तामाङले आगामी दिनमा नेपाललाई एडीबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे । उनले भने, ‘एडीबीको सहयोगले अहिले देशका करिब ७७ जिल्लाहरूमा विद्युत पुगेको छ । विगत ५ दशकदेखि एडीबीको सहयोगले नेपालको विद्युत र सिँचाइले फड्को मारेको छ । अझ धेरै विद्युत उत्पादन भइरहेको छ । यसलाई हामी छिट्टै अघि बढाउने तयारीमा छौं । विद्युतीकरणका थुप्रै कामहरू बाँकी रहेका छन् । एडीबीको सहयोग निरन्तर आइरहनेमा म विश्वस्त छु ।’
कार्यक्रममा ऊर्जा क्षेत्रको विकास एवं विस्तारमा एडीबीको सहयोग निकै महत्त्वपूर्ण रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
एडीबीकै सहयोगमा मात्र कालिगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड निर्माण तनहुँ जलविद्युत् आयोजनाको काम सकिएको र उक्त आयोजना स्थानीय रूपमा विद्युत् खपत गर्न, पूर्व–पश्चिम प्रवाह र भारततर्फ निर्यात गर्न नयाँ बुटवल सबस्टेसन विद्युत्को ठूलो पुलिङ हबका रूपमा रहेको उनको भनाइ छ ।
अहिले देशभर प्रसारण लाइन निर्माण तथा क्षमता अभिवृद्धि गर्ने काम भइरहेको उनले जानकारी दिए।
निर्देशक घिसिङले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एडीबीले पाँच दशकदेखि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
उनले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडीबीको साथ र सहयोग आवश्यक रहेको बताए।
एडीबीले नेपालको अन्तरदेशीय ऊर्जा व्यापार प्रवर्द्धन गर्दै आन्तरिक ऊर्जा सुरक्षा अभिवृद्धि गर्न ऊर्जा तथा सिचाँइ क्षेत्रमा निरन्तर सहयोग र लगानी विस्तार गर्दै आइरहेको बताएको छ ।
सरकारी तथा निजी क्षेत्रका जलविद्युत् आयोजनामा प्रत्यक्ष लगानी र प्रसारणलाइन निर्माणमा नेपाल सरकारलाई सहयोग गरिरहेको एडीबीले जनाएको छ।
आउँदा दिनमा पनि नेपालमा विद्युत् उत्पादन र माग बढाउन तथा प्रसारणलाइन निर्माण र वितरण प्रणाली सुधार गर्न थप लगानी विस्तार गरिने एडीबीको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणको काम कारबाही र विद्युत् वितरण प्रणालीलाई आधुनिक प्रविधियुक्त बनाउन पनि सहयोग गरिरहेको समेत बताएको छ । यस्तै, ५ दशकको अवधिमा नेपाल सरकारलाई धेरै सहयोग गरेको नतिजा प्रगतियोग्य नै आएको जनाएको छ ।
एडीबीका अनुसार पछिल्लो समय विद्युत् उत्पादनभन्दा प्रसारणलाइन निर्माणमा एडीबीको सहयोग बढी रहेको छ । एडीबीले सन् १९७० को दशकदेखि नै नेपालको ऊर्जा क्षेत्रमा लगानी सुरु गर्दै आएको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, एडीबी नेपाल मिसनका निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वेजियन राजदूत डिप्टी हेड अफ मिसन तथा मन्त्री परिषद् सदस्य क्रिस्टिन हाउग स्टोर्होल्टको सहभागिता रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.