चेतनाको अभावले बल्झिँदैछ स्पोर्ट्स इन्जुरी, कारखानाका कामदार र खेलाडी बढी जोखिममा

  २०८१ मंसिर १९ गते ११:१२     इन्द्रसरा खड्का

स्रोत: इन्टरनेट

काठमाडौं । आजभोलि सबैभन्दा धेरै सुनिने कुरा हो-फिटनेस । आफ्नो स्वास्थ्यप्रति नागरिक सचेत हुन थालेका छन् । कसरी आफूलाई फिट राख्ने भन्ने कुरामा ध्यान दिन लागेका छन् ।

तर, कतिपयले फिटनेस रहन अथवा आफ्नो तौल नियन्त्रण गर्न गरिएको प्रयासले शरीरलाई स्वस्थ बनाउनुको साटो अस्वस्थ बनाइरहेका विज्ञहरू बताउँछन् ।

उनीहरूका अनुसार फिटनेसका लागि व्यक्तिले अपनाइरहेका क्रियाकलापले इन्जुरी लिएर उपचार गर्न आउनेको संख्या बढ्न थालेको छ ।  तौल नियन्त्रण गर्न गरेका गलत अभ्यासले अस्पताल पुग्ने अधिकांशमा मांसपेशी, हड्डी, स्नायु, लिगामेन्ट र घुँडामा लागेका चोटहरू लिएर अस्पताल पुग्ने धेरै छन् ।

उपत्यकामा रहेका ठूलाठूला अस्पतालमा स्पोर्ट्स इन्जुरीको समस्या लिएर आउने बिरामीको संख्या बढेको छ । नेपाल मेडिसिटी अस्पतालमा ओपीडीमा आउने ३० प्रतिशत बढी बिरामी यस्तै समस्या ल्याएर आउने गरेको स्पोर्ट्स इन्जुरी विज्ञ डा. राजीवराज मानन्धरले बताए । उनी नेपालमा स्पोर्ट्स इन्जुरीसम्बन्धी नागरिकको बुझाइ नै फरक रहेको बताउँछन् ।

अस्पतालमा पुग्ने अधिकांश खुट्टा मर्केको, घुँडा सुन्नेको समस्या ल्याएर पुग्ने र चिकित्सकले सोध्दै जाँदा स्पोर्ट्स इन्जुरीको समस्या देखिने गरेको उनको भनाइ छ । आम मानिसले स्पोर्ट्स इन्जुरी भन्ने बित्तिकै खेलाडीहरूमा देखिने समस्यामात्र बुझ्ने गरेका छन् । तर, व्यक्तिले फिटनेस रहन खेलिएका खेल, दौडाइ अनि उफ्राइलगायतका गतिविधिले स्पोर्ट्स इन्जुरी हुने गरेको डा. राजीवराजले बताए । 

डोटीका सुमन बलायर हरेक साताको एक दिन फुट्सल खेल्न जान्छन् । अघिपछि समय नहुँदा शनिबार साथीहरूसँग मिलेर फुटसलमा फुटबल खेल्न पुग्छन् । उनको यो क्रम दुई महिनासम्म चल्यो ।

तर, एक दिन उनी फुटबल खेल्दै गर्दा लडे । उनको घुँडामा चोट लाग्यो । उनले फुटबल खेले पनि सुरक्षाका लागि लगाइनुपर्ने केही प्रयोग गरेका थिएनन् । न उनीसँग नी प्याड थियो, न नी ब्रेसेस । फुटबल खेल्दा लगाइने जुता थिए तर त्यो दिन लगाएका थिएनन् । नर्मल लुगा र सुरक्षाका कुनै सामग्री प्रयोग विना खेल खेल्दा उनको घुँडामा चोट लाग्यो ।

चोट लागेपछि केही दिन घरमै बसेका बलायर समस्या झन बढ्दै गएपछि अस्पताल पुगे । उनको घुँडामा मासु च्यातिनुका साथै हड्डीमा पनि चोट लागेको छ । अहिले उनी न राम्रोसँग कलेज जान सक्छन्, न त खेल्न नै । 

‘अघिपछि खेल्ने समय हुँदैन, बिदाको दिन खेल खेलौ‌ं भनेर गइन्थ्यो, यस्तो पो भयो,’ बलायर भन्छन्, ‘सावधानी अपनाएर नखेल्दा डेन्जर हुँदो रहेछ, रमाइलोका लागि खेलेको फुटबलले कोठाभित्र थन्क्याइदियो ।’

बलायरजस्ता कुनै पनि खेलको टेक्निक नजानेका सर्वसाधारणहरू अहिले विभिन्न किसिमका खेल खेलिरहेका हुन्छन् । नेपाली धेरैजसो युवाले शारीरिक व्यायामका लागि जिम सुरु गरेपनि अझै केही विभिन्न किसिमका खेलहरू खेल्ने गर्छन् । विभिन्न खेलहरू खेल्ने क्रममा खेल्ने तरिका र अपनाउनुपर्ने सावधानी नअपनाउँदा धेरै व्यक्ति अस्पतालमा पुग्ने गरेका छन् । 

डा. राजीवराज मानन्धर यही रहरले खेलाडीभन्दा ननखेलाडीहरूमा स्पोर्ट्स इन्जुरीको समस्या देखिने गरेको बताउँछन् । उनी आफूले खेल्न खेल होस् या कुनै शारीरिक व्यायाम खेल्ने गर्ने तरिकाबारे जानकारी लिन आवश्यक रहेकोमा जाेड दिन्छन् । प्रोफेस्नल खेलमा खेलाडीहरू तालिम प्राप्त हुने भएकाले यस्ता समस्याबाट कमै ग्रसित भएपनि ननप्राेफेस्नल खेलाडीहरू यो समस्यामा परेको उनको भनाइ छ । 

के हो स्पोर्टस् इन्जुरी ?

कुनै पनि खेलकुदका गतिविधि गर्दा शरीरमा लाग्ने चोटपटक वा शारीरिक क्षतिलाई स्पोर्ट्स इन्जुरी भन्ने गरिन्छ । अत्यधिक अभ्यास गर्नु, खेल्ने शैली थाहा नपाउनु, पर्याप्त वार्मअप नगर्नु वा खेल खेल्दा गलत उपकरण प्रयोग गर्नुले यस्तो समस्या आउन सक्छ । जसका कारण मांशेपेशी तन्कने, फ्याक्चर हुने लगायतका विभिन्न समस्या हुन्छ ।

नेपालमा यो समस्या विस्तारै बाहिर आउन लागेको चिकित्सकहरू बताउँछन् । विशेषज्ञ सेवाको अभाव, सुरक्षाका उपायको अभाव, चेतनाको कमी लगायत विभिन्न कारणले स्पोर्ट्स इन्जुरी बढ्दै जान थालेको हाे । डा. राजीवराज खेलाडीभन्दा ननखेलाडीमा आजभोलि यो समस्या बढी देखिने गरेको छ ।

स्पोर्ट्स इन्जुरीको विशेषज्ञता हासिल गरी १८ वर्षदेखि यो क्षेत्रमा काम गर्दै आइरहेका डा. राजीवराज दौडँदा, ब्याडमिन्टन खेल्दा वा अन्य खेल खेल्दा पनि स्पोर्टस् इन्जुरी हुने बताउँछन्। ‘हामीकहाँ स्पोर्ट्स इन्जुरीका बारेमा अहिले पनि भ्रम छ,’ उनी भन्छन्, ‘खेल खेल्ने व्यायाम गर्नेमात्र होइन, अन्य कम्पनीमा काम गर्ने कामदारलाई पनि यसको समस्या देखिन सक्छ ।’

नन-खेलाडी जोखिममा 

हरेक खेलाडीलाई खेल कसरी खेल्ने भन्ने थाहा हुन्छ । उनीहरू त्यहीअनुसार प्रशिक्षित हुन्छन् । कतिपयले अध्ययन नै गरेका हुन्छन् । नपढेकाहरूलाई पनि त्यहीअनुसारको तालिम दिइएको हुन्छ । तालिम लिएका र अध्ययन गरेका खेलाडीहरूलाई कुनकुन भागलाई कसरी जोगाउने भन्ने थाहा हुन्छ ।

बास्केटबल खेल्नेहरूलाई उफ्रेर बल बास्केटमा फालेर ल्याण्ड कसरी गर्ने पनि तरिका थाहा हुन्छ । जब उफ्रेर गोडा भुँइमा ल्याण्ड गर्छ, कुन सेफमा ल्याण्ड गर्ने भन्ने उनीहरूलाई ज्ञान हुन्छ । यसमा तरिका मिलेन भने गोडाको लिगामेन्टहरू च्यातिने सम्भावना धेरै हुन्छ । यस्ता टेक्निक हरेक खेलका हुन्छन् । तर नेपालमा समस्या रहरमा खेलेका खेल र तौल नियन्त्रण गर्न गरिएको अभ्यासले हुने गरेको छ ।

डा. राजीवराज भन्छन्, ‘खेलाडीहरूलाई यो विषयमा जानकारी हुन्छ, तर साधारण मान्छेलाई थाहा हुँदैन, हामीले थाहा नपाएर खेल्ने हरेक खेलले स्पोर्ट्स इन्जुरी हुन्छ, तर कहिलेकांही तरिका जानेकै खेलाडीहरूमा पनि यस्तो समस्या देखिने गरेको छ । ’

गलत अभ्यास

आजभोलि हरेक व्यक्तिको जीवन व्यस्त हुन थालेको छ । बिहानदेखि साँझसम्म काममा व्यस्त हुने धेरै जनाको अभ्यास गलत छ ।  जो हप्ताभरि कुर्सीमा बसेर काम गर्ने कतिपय बिदाको एक दिन कडा खालको कसरत गर्छन् । एकै दिन बढी दौड्ने वा व्यायाम गर्ने गर्छन् ।

थोरै समयमा धेरै व्यायाम वा तौल नियन्त्रमा राख्न खोज्नेहरू स्पोर्ट्स इन्जुरीको सिकार बन्न थालेका छन् । उनी भन्छन्, ‘हप्ताभरि बसेर एक दिन बिदाको समयमा धेरै खेल खेल्नु, दौडनु, उफ्रनु राम्रो होइन, यसले फाइदा भन्दा धेरै नोक्सान गर्छ ।’ बिना ज्ञान, बिना तयारी कुनै खेल खेल्नेहरूमा यो समस्या बढी हुन्छ ।

यसो हुँदा उनीहरूमा खुट्टामा चोट लाग्ने, एंकलमा चोट लाग्ने हुन्छ । खेलाडीहरूमा सबैभन्दा जोखिम मानिने भनेको फुटबल खेल्दा दुईजना खेलाडी आएर जुध्दा गम्भीर इन्जुरी लाग्छ । यस्तै, रेस्लिङमा स्पोर्ट्स इन्जुरी धेरै हुन्छ । डा.राजीव ब्याडमिन्टन, टेनिस खेल्दा पनि इन्जुरी हुने बताउँदै जोखिम अलि कम हुने बताउँछन् । 

आफ्नो लागि सके एक घण्टा नभए आधा घण्टा 

मान्छे जति व्यस्त भएपनि आफ्ना लागि कम्तीमा एक घण्टा छुट्याउन विज्ञहरूको सुझाव छ ।  ‘स्वास्थ्य नै धन हो,’ डा.राजीव भन्छन्, ‘उमेर ढल्कदै जाँदा म पनि अहिले बुझ्दैछु, जति पैसा भएपनि शरीर नै स्वस्थ भएन भने कुनै काम हुँदैन, स्वास्थ्यको ख्यालु गर्नुपर्छ । ’पहिलेभन्दा आजभोलि मान्छे सचेत भइसकेका छन् । धेरैजसोले स्वस्थ हुन खोज्छन् ।’

तर, केही व्यक्ति अझै छन् जसलाई मेरो फुर्सद नै छैन, तर उनीहरूलाई पनि शरीरले व्यायाम चाहियो भनेर जनाउ दिन्छ । डा. राजीव बाँचेर मात्र बाँचेजस्तो हुनुभन्दा राम्रोसँग बाँच्नुपर्छ भन्नेमा जाेड दिन्छन् । उनी आफ्नो दैनिकीमा हरेक दिन एक घण्टा वा आधा घण्टा आफ्नोलाई छुट्याउनुपर्ने बताउँछन् । 

चेतनाको अभाव

नेपालमा खेलकुद वा फिट्नेसप्रति आर्कषण बढेपनि कसरी गर्ने वा खेल्ने भन्ने चेतनाको अभाव छ । थाहा नपाएर रहरैले खेलिने यस्ता खेलले शरीरका विभिन्न भागमा क्षति हुने सम्भावना हुन्छ ।

डा.राजीव आजभोलि कुनै कुरा सिक्दा वा खेल्दा त्यो विषयमा जानकारी लिन सक्ने धेरै माध्यमहरू रहेको बताउँछन् । सामाजिक सञ्जाल, युट्युव, गुगलमा खोएर खाज्दा पनि धेरै कुरा मिल्ने बताउँदै उनी त्यसको तरीका, टेक्निक जानेर  मात्र खेल्न सल्लाह दिन्छन् ।

तर, कहिलेकांही दुर्घटना अचानक हुन्छ । सावधानी अपनाउँदा पनि हुने यस्ता दुर्घटनाको उपचार सम्भव रहेको बताउँछन् । 

नेपालमा उपचार

खेलाडी वा अन्य सर्वसाधारणमा हुनसक्ने इन्जुरीहरू धेरै हुन्छन् । लिगामेन्ट इन्जुरी फुटबल खेल्दा धेरै हुन्छ । खेल क्षेत्रमा हेर्ने हो भने, अहिले फिजियोथेरापी, डाक्टर हरेक खेल समूहभित्र हुन्छ ।

खेलाडीहरू यो विषयमा सचेत हुन्छन् तर, सचेत हुँदाहुँदै पनि दुर्घटना हुन्छ । यस्तो समस्या ल्याएर खेलाडीहरू पनि उपचारको क्रममा अस्पताल पुग्छन् । 

फ्याक्ट्रीमा काम गर्ने कामदारलाई पनि यस्तो समस्या हुन्छ । यस्तै, पेन्टरहरूलाई पनि यस्तो समस्या हुन्छ । उनीहरूले दिनहुँ घर, भवनमा पेन्ट गर्दा हात तलमाथि गरिरहनुपर्छ । उनीहरूमा पनि घुँडाकाे समस्या हुन्छ ।  यी चोटपटक सामान्यदेखि गम्भीर खालका हुन्छन् । मांशेपेसीसम्बन्धी चोटहरू जस्तै मांशेपेसी तन्किने, चुँडिने हुन्छ ।

अत्यधिक तान्दा वा बल लगाउँदा मांसपेशी च्यातिन सक्छ भने गम्भीर अवस्थामा मांसपेशीको आंशिक वा पूर्ण चुँडिने सम्भावना पनि हुन्छ । यस्तै, हड्डीसम्बन्धी चोटहरूमा फ्याक्चर, स्ट्रेस फ्याक्चर हुने सम्भावना हुन्छ । स्नायु र लिगामेन्टमा चोट, जोड र घुँडाको चोट छालाको चोटसँग नशा र टाउकोको चोट पनि लाग्न सक्छ ।

यसलाई वेवास्ता गर्‍यो भन्ने गम्भीर पनि हुन सक्छ । कुनै पनि चोट लाग्नेबित्तिकै सुरुमा सुनिन्छ । त्यहीबेला  राम्रो उपचार भयो भने निको हुन्छ । तर, वास्ता गरिएन सुन्निएकै बेला पनि हिँडडुल गरिरह्यो भने औषधी खाएर एक्ससाइज गर्दा पनि निको हुँदैन । यस्तो अवस्थामा अप्रेसन गरेर टाका लगाउनुपर्ने अवस्था पनि आउन सक्छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.