२०८१ मंसिर १९ गते ११:४३ विकासन्युज
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूमा शतप्रतिशत भन्सार लगाउने धम्की दिएका छन् । थिंक ट्याङ्क जीटीआरआईका अनुसार यो चेतावनी पूर्णरूपमा फर्जी छ । अमेरिकाले आफ्नो आर्थिक शक्ति प्रयोग गरेर अन्य देशमाथि प्रतिबन्ध लगाउँदै आइरहेको इतिहास छ ।
जीटीआरआईका संस्थापक अजय श्रीवास्तवले ब्रिक्स देशहरूले अमेरिकी डलरलाई आफ्नै मुद्राले बदलेमा १०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको धम्की अव्यावहारिक भएको बताएका छन् ।
अमेरिकालाई नै नोक्सान
जीटीआरआईका अनुसार शतप्रतिशत ट्यारिफले अमेरिकी उपभोक्ताहरूलाई मात्र हानि पुर्याउँछ । यसले आयात मूल्य बढ्नुका साथै अन्तर्राष्ट्रिय व्यापार अवरुद्ध हुनेछ । साथै प्रमुख व्यापारिक साझेदारहरूबाट प्रतिशोधको जोखिम पनि हुनेछ ।
जीटीआरआईले ‘ब्रिक्स मुद्रा अपनाउने देशहरूमा १०० प्रतिशत कर लगाउने ट्रम्पको धम्की अव्यावहारिक छ । यो व्यावहारिकभन्दा पनि धेरै प्रतीकात्मक छ ।
डलरको विकल्प खोज्दै ब्रिक्स
अमेरिकाको गतिविधिले धेरै देशलाई अमेरिकी डलरको विकल्प खोज्न बाध्य बनाएको छ । जीटीआरआईले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले स्विफ्ट नेटवर्कजस्ता विश्वव्यापी वित्तीय प्रणालीहरूमा आफ्नो प्रभावको फाइदा उठाएर एकतर्फी प्रतिबन्ध लगाएको इतिहास छ ।’
स्विफ्ट एक नेटवर्क हो जसले अन्तर्राष्ट्रिय मुद्रा लेनदेनको सुविधा दिन्छ । अमेरिकाले यसलाई अन्य देशहरूमा दबाब दिन प्रयोग गर्दछ ।
श्रीवास्तवले अमेरिकालगायत कुनै पनि देशले एकपक्षीय रूपमा विश्वव्यापी आर्थिक नीतिहरू तय गर्न सक्दैन । यदि अमेरिकाले यसो गर्यो भने उसलाई पनि घाटा हुनेछ ।
ट्रम्पको देखावटी धम्की
ब्रिक्स राष्ट्रहरू अमेरिकी डलरको विकल्प खोजिरहेका छन् । ट्रम्पको भनाइ यसैको प्रतिक्रियास्वरूप आएको हो । जीटीआरआई आर्थिक नीतिहरूको अनुसन्धान गर्ने थिंक ट्याङ्क हो । ट्रम्पको धम्की एउटा देखावटी मात्र हो भन्ने उसको विश्वास छ ।
डलरमा अमेरिकाको प्रभुत्व नै यसको बल हो । भर्खरै सम्पन्न ब्रिक्स सम्मेलनमा सदस्य राष्ट्रहरूबीच व्यापारका लागि नयाँ मुद्रा ल्याउने प्रस्ताव आएको थियो । अमेरिकाले यसलाई आफ्नो डलरको प्रभुत्वको लागि खतरा मानेको छ ।
विश्वव्यापी व्यापारमा ब्रिक्स प्लस समूहको प्रभुत्व बढ्दै गएको जनाइएकाे छ ।
ब्रिक्स प्लस देशमा भारत, रुस र चीनको भूमिका प्रमुख छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको ब्रिक्समा अब पाँच देश थपिएका छन् । जसमा इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स पर्छन् ।
के हो ब्रिक्स समूह ?
सन् २००१ मा गोल्डमन स्याक्सका एक अर्थविद् जिम ओ’नीलले ब्राजिल, रुस, भारत र चीनलाई बुझाउन संक्षिप्त रूपमा ‘ब्रिक’ शब्द दिएका थिए । उनले यी देशहरू सन् २०५० सम्म विश्वको अग्रणी अर्थतन्त्र बन्ने भविष्यवाणीसमेत गरेका थिए।
यी ठूला र मध्यम आय भएका तर द्रूत आर्थिक वृद्धि भइरहेका देशहरू हुन् ।
सन् २००६ मा ती चारवटा देश मिलेर ब्रिक समूह गठन गर्ने निर्णय गरे । सन् २०१० मा दक्षिण अफ्रिका आबद्ध भएपछि त्यो ‘ब्रिक्स’ बनेकाे हाे ।
ब्रिक्समा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) पनि सम्मिलित भएका छन् ।
आईएमएफ र विश्व ब्याङ्कजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार गर्ने उपायको खोजी गर्नु र उदीयमान अर्थतन्त्रहरूको ‘आवाज र प्रतिनिधित्व’ सिर्जना गर्नु ब्रिक्सको उद्देश्य हो ।
सन् २००९ देखि ब्रिक्स राष्ट्रले वार्षिक रूपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन् । जसमा सदस्य राष्ट्रहरूले पालैपालो आयोजना गर्दै आएका छन् ।
पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो । ब्रिक्सको १६औं वार्षिक ब्रिक्स शिखर सम्मेलन रुसकाे तातारस्तानको कजान सहरमा सम्पन्न भइसकेकाे छ । (एजेन्सीहरूको सहयोगमा)
Copyright © 2024 Bikash Media Pvt. Ltd.