नेपाल-चीन अटोमोबाइल व्यापार प्रवर्द्धनका लागि नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

  २०८१ मंसिर १९ गते ११:५४     विकासन्युज

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब-काउन्सिल (सीसीपीआईटी अटो) बीच सम्झौता भएको छ । अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन नाडा र सीसीपीआईटी अटोबीच सम्झौता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडाको प्रतिनिधित्व गर्दे अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेत चीन भ्रमणमा छन् । सोहि क्रममा सीसीपीआईटी अटोसँग उक्त सम्झौता भएको नाडाले जनाएको छ ।

यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले उल्लेख गरेको छ ।

व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।

सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । यस्तै, सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ ।

साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने सम्झौतामा उल्लेख छ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.