२०८१ मंसिर १९ गते १३:०२ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्णयप्रति असन्तुष्टि जनाउने बैंक तथा वित्तीय संस्था र त्यसमा कार्यरत कर्मचारीको संख्या बढ्दै गएको छ । नीति निर्देशन उल्लंघन गरेको भन्दै कारवाही गरेको नियामक नेपाल राष्ट्र बैंकको निर्णयमा असन्तुष्टि जनाउने व्यक्ति तथा संस्थाको संख्या बढेको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकको बैंकको निर्देशन उल्लंघन गरेको कारण बैंक तथा वित्तीय संस्था र त्यसमा संलग्न पदाधिकारीहरूलाई गरिएको कारबाहीउपर चित्त नबुझी पुनरावेदन तथा राष्ट्र बैंकलाई विपक्षी बनाएर अदालत जानेको संख्या बढेको हो ।
राष्ट्र बैंकले पनि त्यस्तो संख्या बढ्दै गएको जानकारी दिएको छ । आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्ममा मात्रै राष्ट्र बैंकविरुद्ध विभिन्न अदालतमा २०६ मुद्दा दायर भएका छन् । राष्ट्र बैंकका अनुसार चालु मुद्दा (जिल्लास्थित कार्यालयसँग सम्बन्धित समेत गरी) २०६ वटा मुद्दामध्ये ९६ वटा फैसला भएका छन् भने ३ वटा दामासाहीसम्बन्धी मुद्दा रहेका छन् ।
यस्तै, आव २०७९/८० मा कुल २४३ वटा मुद्दा राष्ट्र बैंकविरुद्ध दर्ता भएकोमा ६८ वटा फैसला भएका थिए । आव २०७८/७९ मा कुल १९८ वटा मुद्दा दायर भएका थिए ।
राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा राष्ट्र बैंकविरुद्ध १२९ वटा मुद्दा दर्ता भएका थिए भने २९ वटा मुद्दाको फैसला भएका थिए । आव २०७६/७७ मा ९५ वटा मुद्दा दर्ता भएकोमा ४० वटा मुद्दा फैसला भएका थिए भने आव २०७५/७६ मा ८९ वटा मुद्दा दर्ता भएकोमा ४६ वटा मुद्दाको फैसला भएको थियो ।
आव २०ं७४/७५ मा राष्ट्र बैंक विरुद्ध ८३ वटा मुद्दा दर्ता भएका थिए भने २३ वटा मुद्दाको फैसला भएका थिए । यस्तै, आव २०७३/७४ मा विभिन्न अदालतमा ६६ मुद्दा दर्ता भएकोमा ३६ वटा मुद्दाको फैसला भइसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.