२०८१ मंसिर १९ गते १६:१८ विकासन्युज
काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडलाई अबको चार महिनाभित्र लेखापरीक्षण गरिसक्न निर्देशन दिएका छन् ।
पछिल्लो नौ वर्षयता लेखापरीक्षण नगरेकोमा अर्थमन्त्रीले तीव्र असन्तुष्टि जनाए ।
राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडका पदाधिकारीसहित अर्थ मन्त्रालयमा बुधबार भएको बैठकमा अर्थमन्त्रीले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए ।
उनले लेखापरीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरूलाई निर्देशन दिए ।
राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखापरीक्षण सम्पन्न हुनसकेको छैन ।
अन्तिम लेखापरीक्षण सम्पन्न भएपछि मात्र कम्पनीको साधारणसभा गर्न पनि अर्थ मन्त्रालयले निर्देशन दिएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बिमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.