पाँचदिने भक्तपुर महोत्सव मंसिर २८ देखि सुरु, झण्डै सय स्टल रहने

  २०८१ मंसिर १९ गते १६:३७     विकासन्युज

काठमाडौं । पाँचदिने भक्तपुर महोत्सव २०८१ को आयोजना हुने भएको छ । यही महोत्सव मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुरको महेश्वरी खेल मैदानमा हुने भएको हो ।

मेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुरका अध्यक्ष केशव त्वानाबासूले भक्तपुर महोत्सवअन्तर्गत मुख्य ३२ वटा ठाउँमा विभिन्न प्रर्दशनी हुने जानकारी दिए ।

भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी भक्तपुरका वडाअध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भए पनि उपयुक्तता अनि आवश्यकताअनुसार नगरपालिकाले विभिन्न संस्थालाई कामको जिम्मेवारी दिइएको जनाए ।

महेश्वरी खेल मैदान भक्तपुर नगरपालिका वडा नं ७ मा परेकाले महेश्वरीमा हुने व्यापार मेलाको संयोजन वडास्थित भक्तपुर युवा टिम गोल्मढीलाई दिएको उनले स्पष्ट पारे ।

मेलाको सम्पूर्ण खर्च र आम्दानी आयोजक टिम भक्तपुर युवा टिमले नै गर्ने जनाइएको छ ।

मेलास्थलमा केही दिन अगाडिबाट नै स्टल निर्माण लगायत अन्य कार्यको तयारी थालिसकेको छ । अहिले पनि त्यहाँ दैनिक धमाधम स्टलको लागि काम भइरहेका छन् ।

आयोजक समितिका सचिव रामेश्वर मचामसीले व्यापार मेलामा झण्डै एक सय स्टलहरू रहने छन् । तीमध्ये ८० प्रतिशत अर्थात् ८० स्टलहरू अगाडि नै बुकिङ भइसकेको जानकारी उनले गराए ।

व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरू, विविभन्न प्रकारका लत्ताकपडाहरू, खाद्यान्न, अटोमोबाइल, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामग्रीहरू प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीहरूको स्टलहरू हुनेछन् ।

२०५४ सालपछि भक्तपुरले व्यापक रूपमा दोस्रो पटक भक्तपुर महोत्सव गर्न लागेको हो ।

महोत्सवअन्तर्गत भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडावडा टोलटोलहरू महोत्सवमय हुने जनाइएको छ ।

यसका लागि नगरका ३२ ठाउँहरूमा मुख्यमुख्य प्रदर्शनीहरू रहने जनाइएको छ । भक्तपुर महोत्सवको उद्घाेटन मंसिर २८ गते शुक्रबार बिहान ११ बजे भक्तपुर दरबार क्षेत्र लायकूमा हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.