२०८१ मंसिर २० गते १६:४० विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रवर्द्धक रहेको मुक्तिनाथ म्युचुअल फण्ड-१ बिहीबारदेखि बिक्री खुला गरिएको छ । जुन पहिलो म्युचुअल फण्ड हो ।
क्यापिटलले एक अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री तथा निष्कासन गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गरेको हो ।
जसमध्ये १३ प्रतिशत अर्थात् एक करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, दुई प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ ।
क्यापिटलले आजबाट निष्कासन गरेको फण्डमा लगानीकर्ताले छिटोमा आजदेखि मंसिर २४ गतेसम्म आवदेन दिन सक्नेछन् । सो अवधिसम्म सबै इकाई बिक्री नभएको अवस्थामा पुस ४ गतेसम्म आवेदन दिन सकिने छ ।
योजना व्यवस्थापकको परिचय
म्युचल फण्डको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल हो । यो कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनी रजिष्टर्डको कार्यालयमा २०६६ साल माघ २७ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको थियो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भने २०६७ साल असार ११ गतेबाट धितोपत्र व्यवसायीसम्बन्धी कार्य गर्न अनुमति पाएको थियो ।
कम्पनीले बोर्डबाट २०७१ सालबाट निक्षेप सदस्यता प्राप्त गरेको थियो । त्यस्तै, कम्पनीले २०७१ साल कार्तिक २३ गतेबाट सीडीएस एण्ड क्लियरिङको निक्षेप सदस्यता लिई निक्षेप सदस्य सेवासम्बन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको कार्यालाय नारायणचौर, नक्सालमा रहेको छ । यस संस्थामा मुक्तिनाथ विकास बैंकको ६०.२६ प्रतिशत लगानी रहेको छ ।
सेयरधनीको हकहितको संरक्षण तथा सम्बद्र्धन गर्ने, लगानीकर्तालाई धितोपत्र व्यवसायीको रुपमा गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउने, पुँजी बजारतर्फको विश्वसनियता अभिवृद्धि गर्न आवश्यक कार्य सञ्चालन गर्ने, सेवाको विकास तथा विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्ने योजना व्यवस्थापकको प्रमुख उद्देश्य हुन् ।
उपलब्ध सीप, श्रम तथा पुँजीलाई उचित परिचालन गरी ग्रामीण तथा सहरी क्षेत्रमा पुँजी बजारसँग सम्बद्ध सुविधाहरू उपलब्ध गराउन आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई देशको पुँजी बजारको समग्र विकासका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने योजना व्यवस्थापककाे उद्देश्य रहेको छ ।
कम्पनीका आगामी योजना र रणनीति
कम्पनीले पहिलोपटक बन्दमुखी योजना सञ्चालनमा ल्याएको हो । आगामी दिनमा कम्पनीले समग्र बजारको अवस्था हेरी नयाँ आव २०८१/८२ मा नयाँ खुलामुखी योजना ल्याउने योजना राखेको छ । साथै यस कम्पनीले नयाँ आव २०८१/८२ मा नयाँ खुलामुखी योजनासमेत सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
आगामी दिनमा डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने, एसआइपीसहित खुलामुखी योजनाको इकाई पुनः खरिद गर्ने योजना कम्पनीको रहेको छ । साथै कम्पनीले प्रवाह गर्ने सम्पूर्ण सुविधाहरूलाई आगमी दिनमा समयसापेक्ष विस्तार गर्दै लैजाने, नयाँ योजनाहरू सञ्चालन गर्ने र आगमी पाँच वर्षमा क्यापिटललाई थप नयाँ उचाइमा पुर्याउने रणनीति लिएको छ ।
व्यवस्थापकको पुँजी संरचना
योजना व्यवस्थापको अधिकृत पुँजी ५० करोड रहेको छ । सो पुँजीलाई प्रतिसेयर एक सयको दरले ५० लाख थान साधारण सेयरमा विभाजन गरिएको छ । त्यस्तै, कम्पनीको ४५ करोड जारी पुँजी र ४० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
क्यापिटलमा मुक्तिनाथ विकास बैंकसहित ५२ जना सेयरधनी रहेका छन् । योजना व्यवस्थापकमा मुक्तिनाथ विकास बैंकको ६०.२६ प्रतिशत अर्थात् २४ लाख ४० हजार ४५० कित्ता सेयर लगानी छ । यस्तै, लुम्बिनी विकास बैंकको १९.७५ प्रतिशत अर्थात् ८ लाख कित्ता, शशिराज पाण्डेको २.७२ प्रतिशत अर्थात् २.७२ प्रतिशत अर्थात् १ लाख १० हजार कित्ता, उर्मिला पाण्डेको १.९८ प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर लगानी छ ।
यस्तै, सौरभ तिमिल्सिनाको १.८५ प्रतिशत अर्थात् ७५ हजार कित्ता, आदर्श राज पाण्डे र सिताराम प्रसाईंको समान ०.९९ प्रतिशत अर्थात् ४० हजार कित्ता, सागरप्रसाद तिमिल्सिना र नारायणकुमार श्रेष्ठको समान ०.६२ प्रतिशत अर्थात् २५ हजार कित्ता, तुलसीप्रसाद उप्रेती र सीतारम काफ्लेको समान ०.४९ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर छ ।
सञ्चालक र व्यवस्थाक टिम
यस कम्पनीको सञ्चालक समितिमा ६ जना रहेका छन् । कम्पनीको अध्यक्षमा मुक्तिनाथ विकास बैंकबाट नारायणकुमार श्रेष्ठ रहेका छन् भने सञ्चालकमा डण्डपानी ढकाल, उमेश रेग्मी, लीलानाथ ढकाल, दिपाञ्जली खकुरेल र सुमन कोइराला रहेका छन् ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कविन्द्रध्वज विक्रम जोशी छन् । ४ वर्ष बढी समयदेखि मुक्तिनाथ क्यापिटलको सीईओको भूमिका रहेका उनीसँग एनआइएमबी एस क्यापिटल, प्रभु क्यापिटल, र लक्ष्मी सनराइज बैंकमा गरी साढे २ दशक बढीको बैंकिङ अनुभव छ ।
कम्पनीको प्रमुख सञ्चालन अधिकृतमा अनिल महर्जन छन् । मुक्तिनाथ क्यापिटलमा तीन वर्षदेखि काम गर्दै आएका महर्जनसँग आरविवि मर्चेन्ट बैंकिङ, एनआइएमबि एस क्यापिटल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा २ दशक बढीको अनुभव छ ।
लगानी क्षेत्र
फण्डबाट संकलन भएको रकम आधारभूत विश्लेषण प्रतिवेदन र प्राविधिक विश्लेषण प्रतिवेदनको आधारमा बजारको अवस्था र योजनाको लगानी नीति हेरी सोहीअनुरूपको आवधिक लगानी योजना तयार गर्नेछन् । यसरी तयार गरिएको योजनालाई लगानीको रकमको आधारमा आवश्यकताअनुरूप सम्बन्धित लगानी व्यवस्थापन समिति, नियम अनुपालन अधिकृत, विभागीय प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिसम्म पुर्याइ आवश्यक परिमार्जन तथा स्वीकृति गराई योजना प्रबन्धकमार्फत डिलरको माध्यमबाट कार्यान्वयन गरिनेछ । लगानी योजनामा बजारको आवश्यकता तथा जोखिमको आधारमा कुनै परिमार्जन गर्नु परे सोमा आवश्यक संशोधनका लागि योजना प्रबन्धकले आवश्यक कदम चाल्ने कम्पनीको भनाइ छ ।
धितोपत्रसम्बन्धि कानुनले विदेशमा लगानी गर्न सकिने व्यवस्था गरेको भए तापनि अन्य कानुनी व्यवस्थाले सो गर्न नसकिने हुँदा यस योजनाको रकमलाई हाल विदेशमा लगानी गर्ने कुनै योजना रहेको छैन । तथापि भविष्यमा कानुनले बन्देज नगरेको तथा योजनाको हित अनुकूल हुने देखिएमा नियमन निकायको स्वीकृति लिई आवश्यक अध्ययन गरी विदेशमा लगानी गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले फण्डबाट संकलन भएको रकम बैंकमा निक्षेपको रूपमा जम्मा गर्नुका साथै मुद्रा बजार उपकरण र बोर्डबाट तोकिएको क्षेत्रमा लगानी गर्नेछ ।
योजना व्यवस्थापको रेटिङ
कम्पनीले केयर रेटिङ लिमिटेडबाट केयर–एनपी, त्रिपल बी (आइएस) प्राप्त गरेको छ । उक्त रेटिङले मोडेरेट डिग्री अफ सेफ्ली रिर्गार्डिङ टाइमली सर्भिसिङ अफ फाइनान्सियल अब्लिगेसन इन नेपाल जनाउँछ ।
म्युचुअल फण्डको प्रतिफल
कम्पनीले सामूहिक लगानी कोष नियमावलीमा तोकिएबमोजिम स्थिर आम्दानी (बैंक मुद्दती निक्षेप र डिबेञ्चर) हुने उपकरणमा योजना आकारको २५ प्रतिशतभित्र हुने गरी लगानी गरिने प्रक्षेपण गरिएको छ ।
यस्तै, प्राथमिक तथा दोस्रो बजारमा गरिने लगानी योजनाको आकार अधिकतम ७३ प्रतिशतसम्म हुने अनुमान गरिएको कम्पनीको भनाइ छ । माग तथा अल्प सूचनामा लगानी हुने रकम लगानी अधिकतम् ५२ प्रतिशतसम्म हुने र बजारको अनुकूलताअनुसार घटीबढी गरिने छ ।
समग्रमा कम्पनीले म्युचुअल फण्डका इकाईधनीहरूलाई औसतमा प्रत्येक वर्ष २० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । तर, बजारको उतारचढावसँग निर्भर हुने भएकाले प्रतिफलमा थपघट भने हुन सक्ने कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.