२०८१ मंसिर २० गते १८:२० लक्ष्मण लम्साल
काठमाडाैं । चालु आर्थिक वर्षको ४ महिनामा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर भएको छ । चालु आवको कार्तिक मसान्तसम्म ३५ हजार ९८५ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् ।
अर्थात् बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कको ९ प्रतिशत रकम सरेण्डर भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार कार्तिक मसान्तसम्म ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका थिए । उक्त बीमाशुल्कको ९.०४ प्रतिशत रकम अर्थात् ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ सरेण्डर भएको प्राधिकरले जनाएको छ ।
प्राधिकरणका अनुसार सरेण्ड भएर सबैभन्दा धेरै रकम लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)बाट बाहिरिएको छ । एलआईसीबाट १० हजार ४८ जना बीमितले १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बढीको सरेण्डर हुँदा नेपाल लाइफ इन्स्योरेन्सबाट १ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बढीको सरेण्डर भएको छ । नेपाल लाइफका ८ हजार ४०८ जना बीमितले सरेण्डर गरेका छन् ।
यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनीबाट ३ हजार ८७५ जना बीमितले सरेण्डर गर्दा ३७ करोड ४१ लाख, नेशनल लइफबाट १ हजार ९७९ जना बीमितले सरेण्डर गर्दा २९ करोड ३१ लाख, , एशियन लाइफका २ हजार ६२३ जना बीमितले सरेण्डर गर्दा २७ करोड ९६ लाख, सूर्यज्योति लाइफका १ हजार ९१० जना बीमितले सरेण्डर गर्दा २३ करोड ११ लाख, हिमालयन लाइफका २ हजार ४९८ जना बीमितले सरेण्डर गर्दा २२ करोड र मेट लाइफका १ हजार २४५ जना बीमितले सरेण्ड गर्दा १३ करोड रुपैयाँ बाहिरिएको छ ।
कुन कम्पनीबाट कति सरेण्डर ?सरेण्डर रोक्न के गर्ने ?
पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारप्रसाद अधिकारीले पछिल्लो समय भएको सरेण्डरलाई लिएर चिन्तित भएको बताए । उनले सरेण्डर हुने स्वाभाविक प्रक्रिया रहेको भएतापनि पछिल्लो समय अत्यधिक सरेण्डर भएकोमा आफू चिन्तित भएको उल्लेख गरे।
उनले पछिल्लो समय सरेण्डरको ग्राफ बढ्नुको मूख्य कारण आर्थिक मन्दि भएको बताए । आर्थिक मन्दीका कारण मानिसहरूमा देनिकी चलाउन रकम अभाव हुने गरेको र सरेण्डर गरेको अध्यक्ष अधिकारीको भनाइ छ । सरेण्डर हुनुको अन्य कारणहरूमा अस्वथ्य प्रतिस्पर्धा र जनचेतनाको अभाव रहेको उनको दाबी छ ।
उनका अनुसार अभिकर्ताले पनि कुनै एक कम्पनीमा बीमा गरेका व्यक्तिलाई आफ्नो कम्पनीमा तान्न उक्त कम्पनीबाट बीमा सरेण्डर गर्न प्रोत्साहन गरेको हुनसक्ने उनले आँकलन गरे ।
‘अर्को कम्पनीका बीमितलाई आफ्नो कम्पनीमा तान्न अभिकर्ताले नै सरेण्डर गराउन लगाएको अवस्था पनि हुन सक्छ,’ अध्यक्ष अधिकारीले भने, ‘आफ्नो कम्पनीमा बीमा गर्दा फाइदा रहने तर्क दिएर अन्य कम्पनीबाट बीतिलाई सरेण्डर गराएको पनि हुनसक्ने मेरो आँकल छ ।’
यसका साथै उनले बीमितहरूमा जनचेतनाको अभावका कारण पनि सरेण्डर बढेको उनको भनाइ छ । बीमितलाई बीमाको बारेमा राम्रोसँग बुझाएमा सरेण्डर केही हदसम्म कम हुने उनको धारण छ ।
अध्यक्ष अधिकारीले प्राधिकरणले बीमासम्बन्धी जनचेतनामा प्रभावकारी कार्य नगरेको भन्दै उनले बीमा भविष्यका लागि टेक्ने लौरीको रूपमा मानिसलाई चेतना जगाउनुपर्ने बताए । उनका अनुसार प्राधिकरणले दिने जनचेतनाका कार्यक्रमहरू अझै प्रभावकारी बनाउनु पर्छ । यसका साथै विभिन्न टुल्सको प्रयोग गरेर चेतना विस्तार गर्नु पर्छ ।
अध्यक्ष अधिकारीले भने, ‘प्राधिकरण त्यति धेरै फण्ड भएको नियामक हो । जसले विभिन्न रेडियो, टेलिभिजन, सडक नाटक, पत्रपत्रिका लगायत माध्यमबाट चेतना जगाउँदा राम्रो हुन्थ्यो । यो विषयमा प्राधिकरणले खर्च गर्नुपर्यो ।’
प्राधिकरणले बीमितहरूलाई बीमा गरौं गरौं लाग्नेगरी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको धारणा छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.