तनहुँ जलविद्युत् आयोजना तीन चरणमा काम हुँदै, तीव्रता दिन कुलमानको निर्देशन

  २०८१ मंसिर २५ गते ७:२७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गरेका छन् । ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा उनले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गरे । कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराएका थिए ।

चरण एकअन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यस प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५.७ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

मुख्य बाँध निर्माणअन्तर्गत १४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् ।

आयोजनाको चरण दुईअन्तर्गत विद्युत् गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । यो चरणमा ६३.५ प्रतिशत प्रगति भएको छ ।

चरण तीनको प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर २२० केभी ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३.६ प्रतिशत भौतिक प्रगति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.