२०८१ मंसिर २६ गते १४:२२ विकासन्युज
काठमाडौं । यसअघि अर्थतन्त्र सही दिशामा रहेको दाबी गर्दै आएको अर्थमन्त्रालय र त्यसका पदाधिकारीहरू अहिले अर्थतन्त्र कमजोर अवस्थामा पुगेको वक्तव्य दिन थालेका छन् । अर्थमन्त्रीबाट अझै पनि अर्थतन्त्र सही दिशामा रहेको धारणा सार्वजनिक हुने गरेपनि ब्यूरोक्रेसीले भने अर्थतन्त्र सकारात्मक दिशामा छैन भन्ने आँट गर्न थालेका हुन् ।
यसअघि अर्थमन्त्रीकै भनाइमा लयमा मिलाउने अर्थमन्त्रालयका सचिव तथा उच्च अधिकारीहरू अब भने अर्थतन्त्र सन्तोषजनक अवस्थामा नरहेको भन्न थालेका हुन् । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै अर्थसचिव डा. रामप्रसाद घिमिरे र राजस्व सचिव दिनेश घिमिरेले अर्थतन्त्र सही दिशामा नरहेको संकेत मात्रै गरेनन्, राजस्व संकलन र लगानीका दृष्टिकोणले थप कमजोर बन्दै गएको धारणा राखे ।
अर्थसचिव डा. रामप्रसाद घिमिरेले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक नै रहे पनि आन्तरिक क्षेत्र भने अझै कमजोर अवस्थामा रहेको बताए । उनका अनुसार अर्थमन्त्रालयलाई समस्यामा परेको अर्थतन्त्र चलायमान बनाउनका लागि ठुलो चुनौती छ ।
उनले चालुआर्थिक वर्षको ६ महिना बितिसक्दा पनि पुँजीगत खर्च ११ प्रतिशतको हाराहारीमै सीमित रहेकोले त्यसलाई सन्तोषजनक रूपमा लिन नहुने धारणा राखे । बैंक तथा वित्तीय संस्थाबाट अपेक्षाकृत ढंगबाट कर्जा प्रवाह हुन नसकेको धारणा राख्दै अहिलेको ठूलो चुनौती अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको बताए ।
राजस्व सचिव सचिव दिनेश घिमिरेले पनि राजस्व संकलन र लगानीमै जोड दिएर आफ्नो धारणा राखे । उनले अझै पनि राजस्व चुहावट र विभिन्न छुटका कारण अपेक्षाकृत राजस्व संकलन हुन नसेकको धारणा राखे ।
‘हामीले धेरै क्षेत्र तथा उद्योगी व्यवसायीलाई धेरै छुट दिएका छौं, राजस्व चुहावटका कारण पनि अपेक्षाकृत संकलन हुन सकेको छैन, बैंकिङ क्षेत्रको व्यवसाय घटेका कारण वित्तीय क्षेत्रबाटठ आउने राजस्व पनि खुम्चिँदै गएको छ, अन्य व्यवसायमा पनि समस्या नै छ, यी विविध कारणले हामीले अपेक्षा गरेअनुसारको राजस्व संकलन गर्न सकेका छैनौं,’ उनले भने ।
दुई जना सचिवको कुरा सुनेपछि पूर्वअर्थन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या प्रष्ट देखिएको र वर्तमान सरकारले ती समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे । लगानीमैत्री वातावरण बनाउनका लागि सरकारले अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ ।
उनले बैंकबाट कर्जा लगानी, बीमा क्षेत्रको समस्या समाधान र निर्माण क्षेत्र चलायमान बनाउनका लागि सरकारसँग आग्रह गरे ।
यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारको खर्च नै कमजोर रहेको धारणा राखे । ‘पुँजीगत खर्चमै समस्या छ, अब नयाँ चरणको आर्थिक सुधार आवश्यक छ,’ उनले भने । उनले कृषि उद्योग, पर्यटनलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्ने धारणा राखे ।
छलफलमा सांसद उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने गरेको धारणा राखे ।
‘दैनिक उपभोग्य वस्तु एक किलो ल्याउँदा जनताले सास्ती भोग्नु परेको छ,’ बोर्डर छेउका नेपाली बजार सुक्दै गएका छन्, भारतीय बजार बढ्दै गएका छन्, त्यस कारण पनि राजस्वमा कमी आएको हो,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.