२०८१ मंसिर २८ गते १४:०६ विकासन्युज
काठमाडौं । भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीले हरेक वर्ष १३ अर्ब डलरको तेल किन्ने तयारी गरेका छन् ।
यसका लागि उनले रुसको रोजनेफ्टसँग १० वर्षका लागि वार्षिक १२-१३ अर्ब डलरको कच्चा तेल आयात गर्ने सम्झौता गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्झौताअनुसार रुसको सार्वजनिक क्षेत्रको पेट्रोलियम कम्पनी रोजनेफ्टले रिलायन्सलाई दैनिक ५ लाख ब्यारेल (वार्षिक २ करोड ५० लाख टन) कच्चा तेल आपूर्ति गर्नेछ ।
अम्बानीले वार्षिक रूपमा १२ देखि १३ बिलियन डलरको तेल किन्नेछन् ।
यसबारे सोध्दा रिलायन्सका प्रवक्ताले रसिया भारतका लागि कच्चा तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता भएको बताए । उनले भने, ‘हामी कच्चा तेल खरिदका लागि रसियालगायत धेरै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूसँग संधै संलग्न छौं । बजारको अवस्थाअनुसार अर्थतन्त्रका आधारमा कार्गोको संख्या फरक पर्नेछ ।’
रुसबाट तेल आयात
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेपछि भारत रुसी कच्चा तेलको दोस्रो ठूलो खरिदकर्ता बनेको छ । युद्धअघि कुल आयातित तेलमा रुसको हिस्सा एक प्रतिशतभन्दा कम थियो, जुन अहिले बढेर ४० प्रतिशत पुगेको छ । यो वृद्धिको मुख्य कारण रुस र युरोपेली देशहरूले त्यहाँबाट खरिद नगर्न लगाएको मूल्य सीमा हो । जसका कारण रुसी कच्चा तेल अन्य अन्तर्राष्ट्रिय बजारबाट आपूर्तिको तुलनामा सस्तोमा उपलब्ध छ ।
विश्वको तेस्रो ठूलो तेल उपभोक्ता र आयातकर्ता भारतले अक्टोबरमा रुसबाट दुई अर्ब युरोको कच्चा तेल किनेको थियो । यो अघिल्लो महिनाको २.४ बिलियन युरो भन्दा कम हो । चीनले अक्टोबरमा रुसको कच्चा तेल निर्यातको ४७ प्रतिशत किनेको थियो । त्यसपछि भारत (३७ प्रतिशत), युरोपियन युनियन (६ प्रतिशत) र टर्किए (६ प्रतिशत) रहेको छ ।
रिलायन्सको गुजरातको जामनगरमा दुईवटा रिफाइनरीहरू छन् जसले कच्चा तेललाई प्रशोधन गरेर पेट्रोल र डिजेलमा परिणत गर्छन् ।
रिलायन्सले युरोप र अन्य देशहरूमा इन्धन बिक्री गर्दछ । कम्पनीले यसअघि रोजनेफ्टबाट प्रति महिना कम्तीमा ३० लाख ब्यारेल तेल किन्न एक वर्षको सम्झौता गरेको थियो ।
जामनगरमा रहेको रिलायन्सको दुई रिफाइनरीमध्ये एउटा मात्र निर्यातका लागि हो । यो ५ लाख ८० हजार ब्यारेल प्रतिदिन क्षमताको युनिटले उत्पादन हुने सबै इन्धन निर्यात गर्छ । अन्य ६ लाख ६० हजार ब्यारेल दैनिक एकाइले स्वदेशी आवश्यकता पूरा गर्ने हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.