फरवार्ड माइक्रो फाइनान्सले १३ प्रतिशत बोनस सेयरसहित लाभांश वितरण गर्ने

  २०८१ मंसिर २९ गते १०:०८     विकासन्युज

सुनसरी । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर तथा कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । शुक्रबार सम्पन्न वित्तीय संस्थाको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त निर्णयलाई अनुमोदन गरेको हो ।

संस्थाको बोनस सेयर वितरणपछि वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब १९ करोड ५९ लाख ५२ हजार ८७९ हुनेछ । साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको हो ।

सुनसरीको दुहवीमा शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै संघीय सांसद भगवती चौधरीले वर्तमान विश्व आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्‍याइरहेकोमा प्रशंसा गरेकी थिइन् ।

ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा २ रुपैयाँ बचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसङ्ग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेकी चौधरीले गरिब तथा विपन्न समुदायको बचत तथा वाणिज्य बैंकबाट प्राप्त कर्जा परिचालन गरेर लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने समेत बताइन् ।

‘गाउँघरमा छरिएर रहेका गरिब विपन्न नागरिकको बचतलाई एकीकृत गर्दै वाणिज्य बैंकहरुबाट कर्जा लिएर लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गरेका हुन्छन् । समुदायकै पुँजी भएकाले कसैले ऋण मिनाहा हुन्छ भन्दैमा ऋण मिनाहा हुँदैन,’ सांसद चौधरीले भनिन् ।

साधारण सभाका विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले लघुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरुको जीवनस्तर उकास्ने र युवाहरुलाई रोजगारी दिइरहेको भन्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएको जटिल अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए ।

साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको छ ।

सभामा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय तह अन्तर्गत १५९ शाखा कार्यालय मार्फत २ लाख ८४ हजार ९६५ विपन्न परिवारका सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको जानकारी दिइएको थियो । साथै यस अवधिमा वित्तीय संस्थाले २० अर्ब ९० करोड ९२ लाख ५५ हजार कर्जा प्रवाह गरेको बताइएको थियो ।

साधारण सभामा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले अहिले लघुवित्तको क्षेत्रमा देखिएको जटिल अवस्था विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.