२०८१ मंसिर २९ गते ११:२५ विकासन्युज
काठमाडौं । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।
नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो ।
‘कार्यक्रममा आधारित यो डीपीओ शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्ने छ,’ नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भने ।
पछिल्लो तीन वर्षयता नेपालले वातावरणीय दिगोपना, सहनशीलता र समावेशी विकासका क्षेत्रमा महत्त्वाकांक्षी कार्ययोजना अघि सार्दै आएको छ । बेरोजगारी, महामारी, कमजोर समूहका लागि आर्थिक अवसरको विस्तार र जलवायु तथा अन्य वातावरणीय जोखिम जस्ता परस्पर जोडिएका चुनौतीलाई सम्बोधन गर्न सरकारले बैंकसँग ऋण लिएर खर्च गर्दै आएको जनाइएको छ ।
वायु गुणस्तर सुधार, विपद् जोखिम न्यूनीकरणका लागि जलवायु मौसमी सेवा विस्तार, वर्षभर सिंचाइ र सुरक्षित पानी आपूर्ति प्रवर्द्धन गर्दै जल सुरक्षा सुधार, सामुदायिक वन व्यवस्थापन सुदृढीकरण र भूमि सम्बन्धी योजना सुदृढीकरण गर्ने लक्ष्य अन्तर्गत कार्यक्रम सञ्चालनमा छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.