ग्यास चुहावट भई आगलागी हुँदा ५ लाखबढीको क्षति

  २०८१ मंसिर ३० गते १२:४५     विकासन्युज

गोलबजार । जिल्लाको सुखिपुर नगरपालिका–३ सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सुलिन्दर दासको एक तले पक्की घरमा भरत साहले सटर भाडामा लिई किराना पसल र प्रिमा ग्यास डिलर सञ्चालन गर्दै आएका थिए । साहले पसल बन्द गरी घर गएको बेलामा  ग्यास चुहावट भई अचानक आगलागी हुँदा छ थान ग्यास विष्फोट हुनुका साथै साहको किराना पसल र सोही घरको अर्को सटरमा अनिलकुमार दासको किराना पसलमा पनि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासमानले जानकारी दिए ।

भरत साहको डिलरमा रहेको छ थान ग्यास, सहित किराना सामग्री, एनसेल र एनटिसीको दुई लाख रिचार्ज कार्ड रुपैयाँ, नगद पचास हजार रुपैयाँ गरी पाँच लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक पासमानले बताए । उनका अनुसार अनिलकुमार दासको किराना पसलमा आगलागी हुँदा चामल, गँहु, खाने तेललगायत दुई लाख २३ हजार बराबरको क्षति किराना सामग्री क्षति भएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोली, गोलबजार नगरपालिकाको पानी दमकल र स्थानीयको सहयोगमा शनिबार राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको बताउँदै मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक पासमानले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.