२०८१ मंसिर ३० गते १४:४५ विकासन्युज
काठमाडौ । अन्ततः ज्योति ग्रुप दुई व्यावसायिक ग्रुपमा विभाजन भएको छ । एक शताब्दी पुरानो इतिहास भएको ज्योति समूह औपचारिक रूपमा अलग भएको हो । सम्पत्ति बाँडबाँफाडको विषयमा सुरु भएको विवाद अड्डा-अदालत हुँदै अन्ततः व्यावसायिक समूह नै विभाजन हुने अवस्था सिर्जना भएको हो ।
दाजुभाइ पद्म ज्योति र रूप ज्योतिले अब आ-आफ्नै व्यवसाय सञ्चालन गर्नेछन् । आइतबार दाजु पद्म ज्योतिले पद्म ज्योति ग्रुप स्थापना भएको घोषणा गरे । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले धेरै बाधा र चुनौतीहरू पार गरेर पद्म ज्योति समूह स्थापना भएको बताए ।
पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको बताइएको छ ।
नयाँ व्यावसायिक समूह पद्म ज्योतिले लोगो पनि सार्जननिक गरेको छ । कलश र अष्टमंगल समावेश लोगोले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने बताइएको छ । यस समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ ।
समूहका अध्यक्षमा पद्म ज्योति रहनेछन् । उनले बुबा मणिहर्षको विरासतलाई अवलम्बन गर्दै नयाँ अध्याय सुरु भएको बताए । उनका अनुसार पद्मज्योति ग्रुप अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।
पद्म ज्योतिले सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुहिद ज्योति र आरती ज्योतिलाई सँगै लिएर नयाँ अध्याय सुरु भएको बताए ।
समूहका निर्देशक सौरभ ज्योतिले लामो विरासत बोकेको व्यावसायिक समूह छुट्टिनु परेको भन्दै दुःख व्यक्त गरे । काकासँगको व्यावसायिक सम्बन्ध बिग्रिए पनि अब यसलाई एउटा सिकाइ र पाठका रूपमा लिएर अगाडि बढ्ने उनको भनाइ छ ।
देशको पुरानो व्यावसायिक समूह ज्योति ग्रुप देशकै एक अग्रणी र परिचित समूह हो । मणिहर्ष ज्योतिले सन् १९२० मा व्यवसाय सुरु गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.