२०८१ मंसिर ३० गते १५:०७ विकासन्युज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी माघको दोस्रो हप्तापछि ८ घण्टा बन्द हुने भएको छ ।
कात्तिक २३ गतेयता प्रत्येक दिन १० घण्टा उडान बन्द हुँदै आएको विमानस्थल माघको दोस्रो हप्तापछि ८ घण्टा बन्द हुने भएको हो ।
जसमा नागरिक उड्यन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले कार्तिक २३ गतेदेखि विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी ३ प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम गरिरहेको छ ।
प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम सुरु गरेको थियो ।
हाल विमानस्थल स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थल कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विमानस्थलमा समानान्तर ट्याक्सी वे, इन्टरनेशनल एप्रोन, ह्यांगर एप्रोनलगायत संरचना विस्तारका लागि रात्रिकालीन उडान राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरेको थियो ।
अब भने आगामी माघ १० गतेदेखि राति ८ घण्टामात्रै विमानस्थल बन्द हुने भुलले बताए ।
उनका अनुसार कार्तिक २३ अघि विमानस्थल बिहान ६ बजे खुल्ने र राति १२ बजे बन्द हुने गर्थ्यो । १८ घण्टा खुल्ने विमानस्थल पछिल्लो समय १० घण्टा बन्द हुँदै आएको छ ।
सूचना अधिकारी भुलले भने, ‘माघ महिनापछि हल्का तातो सुरु हुन्छ । उडान पनि बढ्ने गर्छन् । आकाश पनि सफा रहने गर्छ । हुस्सु/कुहिरो पनि हट्ने भएकाले बिहानको बन्द गरेको एक घण्टाअघि र साझँको एक घण्टापछि गरी काम गर्ने योजना बनाएका छौं ।’
माघ दोस्रो हप्तादेखि बिहान ७ बजेदेखि राति ११ बजेसम्म विमानस्थल चल्ने उनको भनाइ छ ।
हाललाई भने साँझ १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको उनले जानकारी दिए ।
विमानस्थल स्तरोन्नतिको काम सकिएपछि साविककै समयअनुसार विमानस्थल सञ्चालन हुने सूचना अधिकारी भुलले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.