नाेभेम्बरमा यूएसको खर्च ६६९ अर्ब डलर, आगामी दशक राजस्वको २५ प्रतिशत ब्याज तिर्दैमा ठीक्क

  २०८१ मंसिर ३० गते १८:०८     विकासन्युज

 

काठमाडौं । अमेरिकाको संघीय सरकारले नोभेम्बरमा ६६९ अर्ब डलर खर्च गरेको छ । यस खर्चका कारण पछिल्लो छ महिनामा अमेरिकी सरकारको औसत मासिक खर्च ६ सय अर्ब डलर पुगेको छ । यो २०२०-२१ को उच्च स्तरको धेरै नजिक छ । त्यतिबेला कोरोना महामारीको कारण आक्रामक आर्थिक प्रोत्साहन दिइएको थियो ।

सरकारको खर्च बढ्दै गए पनि राजस्व भने घटिरहेको छ । नोभेम्बरमा राजस्व ३८० बिलियनमा रह्यो । सरकारको आम्दानी अर्थात् राजस्वभन्दा खर्च बढी भएको यो लगातार १७ औं महिना हो । यस अवधिमा अमेरिकाको ऋण २७ ट्रिलियन डलरबाट बढेर ३६.२ ट्रिलियन डलर पुगिसकेको छ ।

अमेरिकामा ऋणको अवस्था झन् बिग्रिने सम्भावना छ । आगामी दशकमा सरकारको कुल कर राजस्वको २५ प्रतिशत ऋणको ब्याज तिर्न ठीक्क हुने अनुमान छ । यदि अर्को दशकमा मन्दी आयो भने अवस्था झन् बिग्रन सक्छ ।

कसको कति ऋण ?

अमेरिकी सरकारको आन्तरिक ऋण २६.४ ट्रिलियन डलर र अन्तर्राष्ट्रिय ऋण ७.९ ट्रिलियन डलर छ । अमेरिकी सरकारले फेडरल रिजर्भमा ५.२ ट्रिलियन, म्युचुअल फन्डमा ३.७ ट्रिलियन, डिपोजिटरी संस्थाहरूलाई १.६ ट्रिलियन, राज्य र स्थानीय सरकारहरूलाई १.७ ट्रिलियन, अमेरिकी बचत बन्डहरूका लागि ५.७ ट्रिलियन, निवृत्तिभरण कोषमा १ ट्रिलियन, ७ ट्रिलियन डलर सरकारबीचको ऋण (इन्ट्रागभर्नमेन्टल डेट) र ४८० अर्ब डलर बीमा कम्पनीहरूको हो ।

वैदेशिक ऋणको कुरा गर्दा सबैभन्दा बढी जापानको १.१ ट्रिलियन डलर, चीनको ८२० अर्ब डलर, बेलायतको ६८० अर्ब डलर र अन्य देशको ५.३ ट्रिलियन डलर ऋण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.