२०८१ पुष १ गते ८:०४ विकासन्युज
काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छिन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरे ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरे ।
महासचिवमा रामप्रसाद दाहालले ४ हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी जित निकाले सचिव महिलामा सोनी शर्माले ४ हजार ३४७ मत प्राप्त गरी विजयी भइन् ।
त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले ३ हजार ५३५, सचिव मधेशीमा अशोककुमार तिवारीले ३ हजार ८५८ मत प्राप्त गरी विजयी भए। सचिव दलिततर्फ प्रकाश धौलाकोटीले ४ हजार ११०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित हासिल गरे ।
कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले ३ हजार ८४७ मत प्राप्त गरी विजयी भए । कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५२७ मत र शङ्कर खरेलले ४४२ मत, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा २९७ मत र राजेशकुमार कर्णले ३७६ मत प्राप्त गरी विजयी भए ।
बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले ३६८ र नारायणप्रसाद अधिकारीले ४५० मत प्राप्त गरी विजयी भएका छन् ।
गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी ३३० मत, केवी रानाले ३८१ मत प्राप्त गरे भने लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले ५६० मत र विकास बन्जाडेले ४७३ मत प्राप्त गरी विजयी भए ।
कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३२१ मत प्राप्त गरी जित निकाले । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३९७ र सुरेश पन्तले ३ सय मत प्राप्त गरी विजयी भए ।
उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४५९ र सूर्य सुवेदीले ६६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले ४ सय र सविता शर्माले ४८७ मत प्राप्त गरी विजयी भए । संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले २०९ र मनुका कुँवरले ३०१ मत प्राप्त गरी जित निकालिन् ।
खुला सदस्यमा छविलाल तिवारीले ३ हजार ४७०, भूपेन्द्र आचार्यले ३ हजार ५८२, मुकुन्दप्रसाद भण्डारीले ३ हजार ७२१, रामेश्वर कार्कीले ३ हजार ६३० र लवदेव ढुङ्गानाले ३ हजार ८३० मत प्राप्त गरी निर्वाचित भए ।
मधेसी महिलातर्फ रुवीकुमारी रौनियारले ४ हजार १८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले ३ हजार ७३७ मत, खस आर्य महिलामा लिला शाह योगीले ३ हजार ८१० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएकी छिन् ।
दलित सदस्यमा सिकेन्द्र पासवानले ३ हजार ३१६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएका छन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगरले ४ हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए ।
मधेसी सदस्यमा राजकरण महतोले ३ हजार ८९३, मधेसी सदस्य महिलामा ललिताकुमारी साहले ४ हजार ४०९ मत प्राप्त गरी निर्वाचित भए । अपाङ्गता भएका सदस्यमा भूपराज बस्यालले ३ हजार ५५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले ४ हजार ३७३ मत प्राप्त गरी विजयी भए ।
लेखा समिति संयोजकमा केसी लामिछानेले ४ हजार १९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले ४ हजार १२५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले ४ हजार ८९ मत प्राप्त गरी जित निकाले । महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.