२०८१ पुष १ गते ११:०० विकासन्युज
काठमाडौं । पछिल्लो केही महिनायता निर्माण क्षेत्र र कृषि कर्जा घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा यी दुई क्षेत्रमा घटेको छ ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले कार्तिकसम्म १ खर्ब ८७ अर्ब ७४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकले भदौमा १ खर्ब ८८ अर्ब ४ करोड ९० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
२०८१ को भदौसम्म भने वाणिज्य बैंकसहित बैंकिङ क्षेत्रले कुल २ खर्ब १० अर्ब ४५ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । यस्तै, २०८० को अन्तिममा २ खर्ब ७ अर्ब २२ करोड र २०७९ मा २ खर्ब ३ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ऋण निर्माण क्षेत्रले उपभोग गरेको देखिन्छ ।
यस्तै, २०७८ मा १ खर्ब ९० अर्ब १९ करोड ६० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा ऋण प्रवाह गरेका छन् ।
निर्माणसँगै कृषि क्षेत्रको कर्जा पनि घटेको छ । गत वर्ष ३ खर्ब ६९ अर्ब ६२ करोड रुपैयाँ रहेको कृषि कर्जा पनि निरन्तर घट्दै गएको छ । अहिले सो कर्जा ३ खर्ब ५९ अर्ब ७८ करोड ६० लाख रुपैयाँमा सीमित भएको हो ।
बैंकरहरूले निर्माण र कृषि क्षेत्रमा डिफल्ट बढ्दै गएकोले उल्लेख्यरूपमा कर्जा प्रवाह गर्न सकेको छैनन् । अहिले कर्जाको माग पनि न्यून रहेको बैंकरले बताउँदै आएका छन् । अहिले बैंकिङ क्षेत्रसँग करिब ७ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.