२०८१ पुष १ गते १६:१९ विकासन्युज
काठमाडौं । दक्षिण कोरियाको अटो कम्पनी ‘हुन्डाई’ सवारी उत्पादनका हिसाबले विश्वको तेस्रो ठूलो कम्पनी र बजार पुँजीको हिसाबले १६औं ठूलो कम्पनी हो ।
हुन्डाईको व्यवसाय अटो र निर्माणलगायत धेरै क्षेत्रमा फैलिएको छ । तर संसारमा यो कम्पनी केवल आफ्नो गाडीको लागि धेरै परिचित छ ।
हुन्डाईको स्थापना चुङ जु-युङले गरेका थिए, जसलाई लिएर आज दक्षिण कोरियाका हरेक नागरिक गर्व गर्दछन् । उनी धेरै वर्षसम्म दक्षिण कोरियाको सबैभन्दा धनी थिए । यद्यपि चुङ जु-युङको जीवन संघर्षले भरिएको थियो । धेरै पटक उनको व्यवसाय ध्वस्त भयो तर उनले कहिल्यै हार मानेनन् ।
आज हामीले यिनै चुङ जु-युङको बारेमा यहाँ उल्लेख गर्दैछाैं ।
चुङको जन्म उत्तर कोरियाको कानवोन प्रान्तको एउटा सानो गाउँ टोन्चोनमा सन् १९१५ मा गरिब किसानको घरमा भएको थियो । उनी ७ दाजुभाइमध्ये जेठा थिए । उनका बुवा धानखेती गर्दथे । चुङ शिक्षक बन्न चाहन्थे तर उनको परिवारसँग पढाइका लागि पैसा थिएन । उनका बुबाले खेतीपाती गरून् भन्ने चाहन्थे तर खेतीपातीमा उनको रुचि थिएन ।
एक दिन मौका छाेपी चुङ घरबाट भागे अनि एउटा निर्माण कम्पनीमा काम गर्न सुरु गरे । त्यतिबेला उनी १६ वर्षका थिए । तर दुई महिनापछि उनका बुवाले उनलाई फेला पारे र फर्काए । चुङको मन घरमा थिएन । उनी फेरि भागे र फेरि पनि समातिए । यो क्रम धेरै पटक जारी रह्यो ।
सुरुवाती संघर्ष
अन्ततः १९३४ मा चुङ घरबाट भाग्न सफल भए । उनी भागेर दक्षिण कोरिया पुगेका हुन् । त्यहाँ उनले चामल पसलमा डेलिभरी ब्वाईको रूपमा काम गर्न थाले । उनको इमानदारी र लगनशीलता देखेर पसल साहुले उनलाई मेनेजर बनाए । सन् १९३७ मा पसलका मालिक बिरामी परे र आफ्नो पसल चुङलाई सुम्पिए ।
यसरी २२ वर्षको उमेरमा चुङ पसलको मालिक बने । तर १९३९ मा जापानीहरूले उनको पसल बन्द गरे । यसपछि चुङले साथीबाट ऋण लिएर अटो मर्मत पसल खोले । उनको यो काम पनि राम्रै चलिरहेको थियो तर १९४३ मा जापानीहरूले फेरि व्यापार बन्द गरिदिए ।
१९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भएपछि चुङको भाग्यमा परिवर्तन आयो । १९४६ मा उनले हुण्डाई नामक इन्जिनियरिङ र निर्माण कम्पनी स्थापना गरे । तर १९५० मा उत्तर कोरियाको आक्रमणका कारण चुङले आफ्नो व्यवसाय छोडेर बुसान भाग्नुपर्यो ।
युद्ध समाप्त भएपछि चुङले आफ्नो व्यवसाय पुनः सुरु गरे । उनले अमेरिकी सेना र कोरियाली सरकारबाट धेरै ठेक्का पाए । तर उनको व्यवसाय १९६१ मा जनरल पार्क चुङ-ही सत्तामा आएपछि फस्टाउन सुरु भएको थियो । हुन्डाईले धेरै निर्माण परियोजनाहरू पायो । यस अवधिमा चुङले आफ्नो व्यवसायलाई धेरै क्षेत्रमा विस्तार गरे ।
हुन्डाईको बिजनेस
हुन्डाई समूहमा ८६ कम्पनी थिए । यसले चिप्सदेखि जहाजसम्म सबै कुरा बनाउँथ्यो । यसैबीच, चुङले अटो क्षेत्रमा सम्भावना देखे र कारको डिजाइनमा काम गर्न थाले । उनी मध्यम वर्गका लागि गाडी बनाउन चाहन्थे । करिब ८ वर्षको कडा परिश्रमपछि कम्पनीले सन् १९७५ मा आफ्नो पहिलो स्व-निर्मित कार पोनी लन्च गर्यो । यो सस्तो र यसको डिजाइन पनि उत्कृष्ट थियो ।
पोनी यति सफल भयो कि यसले बजारको ६० प्रतिशत कब्जा गर्यो । हुन्डाई १९८२ मा बेलायती बजारमा प्रवेश गरेको थियो र पहिलो वर्ष नै कम्पनीले त्यहाँ करिब ३ हजार कार बिक्री गरेको थियो ।
वर्षमै १ लाख ७० हजार कार बिक्री
१९८४ मा कम्पनीले क्यानडामा पोनी २ बिक्री गर्न थाल्यो, जुन राम्रो संख्यामा बिक्री भयो । १९८६ मा कम्पनीले अमेरिकामा एक्सेल कार लन्च गरेको थियो र पहिलो वर्षमै १ लाख ७० हजार कार बिक्री गरेर हलचल मच्चाएको थियो । यो धेरै वर्षको लागि अमेरिकामा सबैभन्दा राम्रो बिक्री कार थियो ।
आज हुन्डाई विश्वको शीर्ष १०० सबैभन्दा मूल्यवान ब्रान्डहरूमा पर्छ । साथै, यो टोयोटा र फक्सवागनपछि उत्पादनको हिसाबले तेस्रो ठूलो अटो कम्पनी हो ।
कम्पनीको व्यवसाय विश्वका १९३ देशमा फैलिएको छ । सन् २००१ मा चुङको निधन भएको थियो तर त्यतिन्जेलसम्म उनले हुन्डाईलाई निकै उचाइमा पुर्याइइसकेका थिए। (एजेन्सीहरूको सहयोगमा)
Copyright © 2024 Bikash Media Pvt. Ltd.