२०८१ पुष १ गते १४:१५ बबिता तामाङ
काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने विषय झन् पेचिलो बन्दै गएको छ । यस विषयमा उड्ययन कम्पनीहरूले असन्तुष्टि जनाउँदै आएका छन् । गत शुक्रबार वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति नै जारी गरेर उडानलाई नरोक्ने र निरन्तरता दिने बताएकाे थियो ।
संघले विज्ञप्तिमार्फत् ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य नभएको उल्लेख गरेको छ ।
वायु सेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्की निकुञ्जले प्रक्रिया बाहिर रहेर गरेको निर्णय मान्न बाध्यकारी नहुने बताउँछन् । ‘उडान क-कसले रोक्न पाउँछ भन्ने ऐनमै व्यवस्था छ, त्यसअन्तर्गत निकुञ्जको अधिकारमा उडान रोक्ने अधिकार छैन,’ उनले भने ।
नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले पनि शुक्रबार नै प्रेस विज्ञप्ति नै जारी गरेर निकुञ्जको परिपत्रसम्बन्धमा आपत्ति जनाएकाे छ । क्यानले उक्त क्षेत्रमा हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेलसम्म निर्वाध रूपमै व्यावसायिक उडान सञ्चालन गर्न/गराउन पनि सम्पूर्ण हेलिकप्टर कम्पनीलगायत सरोकारवाला निकायलाई जानकारी गराएको छ ।
क्यानले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन तथा हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीलगायतका कानुनमा कुनै पनि आरक्षमाथिको हवाई क्षेत्र प्रतिबन्ध गर्ने अधिकार उक्त निकायमा नरहेको हुँदा निकुञ्ज कार्यालयले गरेको सो पत्राचारको कुनै पनि कानूनी आधार र औचित्य नभएको दाबी गरेको छ ।
‘निकुञ्ज कार्यालयले प्राधिकरणको नियमन दायरामा रहेका ११ वटा हेलिकप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थानको संरक्षण, ध्वनि प्रदूषण नियन्त्रण र खुम्बु क्षेत्रको व्यापार, व्यवसाय तथा रोजगारी व्यवस्थापन गर्ने भन्दै हेलिकप्टरको उडानमा पूर्णरूपमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
गत साता सगरमाथा राष्ट्रिय निकुञ्जले सन् २०२५ को सुरुदेखि हेलिकप्टर कम्पनीहरूलाई उद्धारबाहेकका काममा करिब चार हजार क्षेत्रमाथि उडान गर्न रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार नै निकुञ्जले वायुसेवा कम्पनीलाई पत्रचार गरेको थियो । एउटा निकायले उडान रोक्न पत्राचार गर्नु र अर्कोले नमान्ने निर्णयले दुई निकायबीच विवाद चर्किने सम्भावना बढेर गएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख सुष्मा रानाले वन्यजन्तुको संरक्षण र हीतको लागि खुम्बु क्षेत्रमा हेलिकप्टर उडानलाई रोक्ने निर्णय गरेको बताइन् । उनले भनिन्, ‘हेलिकप्टरले ध्वनि प्रदूषण बढाएको छ, वन्यजन्तुलाई क्षति पुगेको छ भने उनीहरूको बानीबेहोरा अनि आनीबानीलाई नै परिवर्तन गरिदिएको छ ।’
निकुञ्जका प्रमुख राणाले हेलिकप्टर उडानले त्यस क्षेत्रवरिपरि वातावरणमा समेत प्रदूषण बढेकोले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको सुनाइन् ।रानाले हेलिकप्टर ल्याण्ड गर्ने क्षेत्रमा नागरिक उड्ययन प्राधिकरणले कुनै पनि सुरक्षाको व्यवस्था नगरेको बताइन् ।
‘हाम्रो क्षेत्रभित्र जथाभावी ल्याण्डिङ भइरहेको छ, त्यसमा प्राधिकरणले सुरक्षाको कुनै व्यवस्था गरेको छैन । उडाउने आकाश सबैको साझा भएपनि ल्याण्डिङ गर्ने क्षेत्र हाम्रो हो, हामीले त्यही अधिकारभित्रै रहेर यस्तो निर्णय गरेका हौं,’ उनले भनिन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता तथा उपमहानिर्देशक वेद कुमार ढकालले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान रोक्ने विषयमा सगरमाथा राष्ट्रिय निकुञ्जले कुनै सहकार्य नगरी निर्णय गरेको बताए । प्रवक्ता ढकालले यस विषयमा मन्त्रालयमा छलफल हुन लागेको र त्यसपछि मात्रै आधिकारिक धारणा सार्वजनिक हुने जानकारी दिए ।
‘उडान रोक्ने निर्णय हाम्रो अधिकारभित्र छैन, सगरमाथा निकुञ्जले वायुसेवा सञ्चालक संघलाई जसरी पत्रचार गरेकाे छ, त्यस विषयमा हामी छलफल गर्दैछौं । अब दुई/तीनभित्रै त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्छौं,’ उनले भने ।
यस विषयमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय भने मूकदर्शक बनेको छ । सबै निकायलाई राखेर समस्याको समाधान गर्नुको साटाे मन्त्रालय यस विषयमा मौन रहेर रमिते बनेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.