२०८१ पुष १ गते १५:२६ विकासन्युज
काठमाडौं । अब्बल व्यवस्थापकका रूपमा परिचित पूर्वबैंकर रत्नराज बज्राचार्य नेपाल इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा सञ्चालनमा आएको नेपाल इन्भेष्टमेन्ट कम्पनीको सीईओमा बज्राचार्य नियुक्त भएका हुन् ।
इन्भेष्टमेन्ट कम्पनीको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ग्लोबल आइएमई बैंकका पूर्वसीईओ बज्राचार्य कार्यकाल सकिएपछि गत साउन ३२ गते बाहिरिएका थिए । ४ महिनापछि बज्राचार्य पुनः कम्पनीमा सीईओ बनेर ‘कमब्याक’ भएका हुन् ।
ग्लोबल आईएमई बैंकको अध्यक्ष र सीईओको रूपमा काम गरिरहेका दुवै जना अब यस कम्पनीको पनि ढकाल अध्यक्ष र बज्राचार्य सीईओ भएर काम गर्नेछन् ।
पुँजी अभावका कारण धेरै आयोजना र उद्योगहरू स्थापना गर्न नसकिएको भन्दै नेपालमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा संकलन गरेर देशभरका उद्यमी व्यवसायीहरूले लगानी गर्नसक्ने गरी १० अर्ब पुँजीको इन्भेष्टमेन्ट कम्पनी सञ्चालनमा आएको हो ।
लैनचौरमा मुख्य कार्यालय रहेको कम्पनीमा हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी लगानी संकलन भइसकेको जनाइएको छ । यस कम्पनीले ठूला मेगा प्रोजेक्ट, ट्रान्समिसन लाइन, ठूला बस्ती विकास, हाइवे, हाइड्रो, पर्यटनलगायतका आयोजनामा लगानी गर्नेछ । साना र मझौला उद्यमी व्यवसायीलाई प्राथमिकता दिने कम्पनीको योजना छ ।
ग्लोबल आइएमई बैंकको सीईओबाट बाहिरिएका उनलाई धेरैले अब व्यवस्थापकीय नेतृत्वको रूपमा आउन नसक्ने अनुमान गरेका थिए । उनी भने जीवनको उत्तरार्धमा थप सक्रिय बन्दै गएका छन् । उनले परिपक्व नेतृत्वसँगै नतिजामुखी काम पनि गर्दै आएका छन् ।
लामो समय नेपाल राष्ट्र बैंकमा काम गरेका उनले तत्कालीन सनराइज, तत्कालीन एनसीसी र ग्लोबल आइएमई बैंकको नेतृत्व सम्हालिसकेका छन् । आफूलाई ‘क्विक’ र ‘बोल्ड डिसिजन’ गर्न बानी परेको बताउने उनी पछिल्लो समय थप सक्रिय बन्दै गएका छन्।
उनले ग्लोबल आईएमई बैंकको बिजनेस बिस्तारसँगै बैंकलाई एक नम्बर बनाउने ठूलो भूमिका खेलेका छन् । लामो समय ग्लोबल आइएमई बैंकको व्यवस्थापकीय नेतृत्व र सो बैंकका अध्यक्ष ढकालसँगको सुमधुर सम्बन्धका कारणले उनले पुनः नेपाल इन्भेष्टमेन्ट कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्ने अवसर पाएका छन् ।
यस कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने योजना महासंघको छ । अध्यक्ष ढकालले केन्द्रमा स्थापना हुने मुख्य कम्पनी पब्लिक लिमिटेड हुने र त्यसकै सहायक कम्पनीका रूपमा हरेक प्रदेशमा एक/एक वटा सहायक (सब्सिडियरी) कम्पनी स्थापना गरिने बताउँदै आएका छन् ।
यो कम्पनीको लगानी कृषि उत्पादन तथा प्रशोधन, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा मात्र हुनेछ । यो कम्पनीले सेयर र घरजग्गामा भने लगानी गर्ने छैन । यो कम्पनीले निजी क्षेत्रलाई थप लगानी गर्न उत्साह थप्ने ढकालको विश्वास छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.