२०८१ पुष १ गते १८:०५ विकासन्युज
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए)को अध्यक्षमा सन्तोष कोइराला बन्ने सहमति भएको छ । प्रभु बैंकका सीईओ अशोक शेरचन ब्याक हटेपछि माछापुच्छ्रे बैंकका सीईओ समेत रहेका कोइराला बैंकर्स संघको अध्यक्ष बन्ने भएका हुन् ।
हाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, उपाध्यक्ष सन्तोष कोइरालाको अवधि सकिँदैछ । साथै, कार्यसमिति सदस्य नेपाल एसबिआई बैंकका सीईओ दिपककुमार दे र एभरेष्ट बैंकका सीईओ सुदेश खालिङको पनि अवधि सकिँदैछ भने एक सदस्य पद रिक्त छ ।
बैंकर्स संघको साधारण सभाले संघको अध्यक्ष, उपाध्यक्ष र ३ जना सदस्यसहित नयाँ कार्यसमिति चयन गर्दैछ । अध्यक्ष पदका लागि सीईओ कोइराला र सीईओ शेरचनले मनोनयन दर्ता गरेका थिए । अन्तिममा सीईओ शेरचन ब्याक हटेपछि कोइराला अध्यक्ष बन्ने निश्चित भएको हो ।
यस्तै, कोइराला अध्यक्ष बन्ने भएपछि बैंकर्स संघको उपाध्यक्षमा भने ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा अर्काे उम्मेदवारी नपरेपछि सीईओ रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा भने एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ दोहोरिने भएका छन् । साथै बाँकी रिक्त कार्यसमिति सदस्यमा नेपाल बैंकका सीईओ तिलकराज पाण्डेय र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल आउने भएका हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.