‘सहकारीलाई राष्ट्र बैंकको नियमनमा राख्नु हुँदैन, अडिटरले पेशागत धर्म छोडेको दिन सिलिकन भ्यालीको हालत हुन्छ’

  २०८१ पुष २ गते ११:१४     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले सहकारी संस्थाहरूलाई राष्ट्र बैंकको नियमनमा राख्नै नहुने बताएका छन् । सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकको नियमनमा गएको खण्डमा भने स्वनियमन हटाउनुपर्ने उनले बताए । ‘सहकारीलाई राष्ट्र बैंकको नियमनमा राख्नै हुँदैन, राष्ट्र बैंकको मोह छोड्नुहोस्, राजनिती गर्नेले नियमनमा बस्न चाहँदैन,’ उनले भने, ‘सहकारीका अधिकांश सञ्चालक राजनीतिमा छन्, सहकारी राष्ट्र बैंकको नियमनमा गयो भने भोलि अर्कै समस्या आउँछ ।’

पूर्वअर्थमन्त्री खतिवडाले लेखापरीक्षक (अडिटर)हरूले पेशागत धर्म छोडेको दिन सिलिकन भ्यालीको हालत हुने बताए ।अर्थ सामाजिक व्यवस्थाको एउटा अंग भएको उनको भनाइ छ । बैंकिङ प्रणाालीबाट अब सहकारीमा समस्या नरहेको समेत उनले बताए । साथै बैंकिङ क्षेत्रको ब्याजदर उच्च हुँदा सबै क्षेत्रलाई समस्यामा पारेको उनको भनाइ छ ।

‘सहकारी कोषहरू पारदर्शी हुनुपर्छ, लेखापरीक्षक सुशासनमा बस्नुपर्छ,’ पूर्वअर्थमन्त्री खतिवडाले भने, ‘अडिटरले पेशागत धर्म छोड्नु हुँदैन, अडिटरले कमजोरी गर्‍यो भने सिलिकन भ्यालीका बैंक डुबेका छन् । त्यो अवस्था हाम्रोमा आउन दिनु हुँदैन ।’

अर्थतन्त्र नबिग्रिएको तर अपेक्षाकृत नरहेको उनको भनाइ छ । ६० खर्ब बचतको ५ प्रतिशत ब्याज हुँदा बचतकर्तालाई धेरे घाटा भएको उनले बताए ।

जति सहकारी संस्था बिग्रिएपनि अब सुधारको बाटोमा जानुपर्ने उनको धारणा छ । सही वित्तीय व्यवस्थापन गरेका सहकारी संस्थाहरू समस्यामा नरहेको र सबै सहकारी नबिग्रिएको उनले बताए । साथै पछिल्लो समय सहकारीप्रतिको धारणा सकारात्मक हुँदै गएको समेत उनको बुझाइ छ ।

‘बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गर्ने विषय बहस बनेको छ, सरकारले चेक काटेर दिने होइन, सरकारले कसैको ऋण तिरिदिँदैन,’ उनले भने, ‘५ लाखसम्म बचत फिर्ता गर्ने भनेको संस्थाको सम्पत्ति बिक्री गरेर हो, ६ लाखले पनि पाउनु पर्‍यो नि, उसको बचत होइन र ?’

‘टाउको दुख्यो भने घाँटी काटेर फाल्ने होइन, कारोबार र बचतको सीमा हुनु हुँदैन । त्यसको आधारमा वर्गीकरण गर्नुहुँदैन, साना बचतकर्तामा सहकारीको दाबी पहिलो पर्ने होकि, कर्जाभन्दा पनि ऋण सूचना केन्द्र बनाउनुपर्छ,’ उनले थपे ।

क्रिप्टोकरेन्सीबाट धेरै देशले राम्रो आम्दानी गरेको तर, नेपालमा त्यो अवैध रहेको उनको भनाइ छ । त्यसैले देशको नीति अनुसार काम गर्नुपर्ने पूर्वअर्थमन्त्री खतिवडाले  थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.