युक्रेन युद्धको प्रभाव : रुसी तेलको सबैभन्दा ठूलो खरिदार भारत, रिफाइनरीहरू मालामाल

  २०८१ पुष २ गते ११:५४     विकासन्युज

काठमाडौं ।  भारत रुसबाट तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ । चेन्नई-भ्लादिभोस्तोक समुद्री मार्गले आयातलाई झन् सहज बनाएको छ । यो मार्गले  यातायात समय र लागत घटाएको हो । यही नयाँ मार्गबाट नै  कोइला, एलएनजीजस्ता उत्पादनको व्यापार पनि हुने गरेको छ । यस मार्ग परम्परागत मार्गभन्दा १६ दिन कम समय लिन्छ, जसका कारण रुसी तेल खरिदमा भारतलाई फाइदा भइरहेको छ ।

नयाँ समुद्री मार्ग ‘पूर्वी समुद्री करिडोर’ मार्फत भारत र रुसबीचको व्यापार सहज भएको हो । यसले विशेषगरी तेल आयातमा धेरै सहयोग गरेको छ । सन् २०२४ को मध्यमा भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको थियो । नयाँ बाटो चेन्नईदेखि भ्लादिभोस्तोकसम्मको रुटले समय र पैसा दुबै बचत गरिरहेको छ ।

कच्चा तेल, कोइला र एलएनजीजस्ता उत्पादनका साथै अहिले मल र कन्टेनराइज्ड सामान पनि यही बाटोबाट पठाउने गरेको छ । यस मार्गबाट ​​सामान ढुवानी गर्न लाग्ने समय ४० दिनबाट घटेर २४ दिनमा पुगेको छ ।

भारतले चीनलाई उछिन्यो

२०२४ को मध्यमा चीनलाई उछिन्दै भारत रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता बन्न पुगेको हो । परम्परागत रूपमा मुम्बईदेखि सेन्ट पीटर्सबर्ग सम्मको समुद्री मार्ग ८ हजार ६७५ समुद्री माइल लामो थियो । यसले ४० दिन वा बढी समय लिन्थ्यो । चेन्नई देखि भ्लादिभोस्तोक सम्मको नयाँ रुट करिब ५ हजार ६०० समुद्री माइल छ । यसले ढुवानी समय १६ दिन घटाएको छ, अर्थात् अब २४ दिन मात्रै लाग्छ ।

एउटा ठूलो जहाज लगभग ४५ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्छ । यसले लगभग १२ दिनमा भ्लादिभोस्टोकदेखि चेन्नईको दूरी कभर गर्छ । यो परम्परागत सेन्ट पिटर्सबर्ग-मुम्बई मार्गले लिने समयको एक तिहाइ भन्दा कम हो । भ्लादिभोस्तोक प्रशान्त महासागरमा रहेको रुसको सबैभन्दा ठूलो बन्दरगाह हो । यो चीन र रुस सीमाबाट करिब ५० किलोमिटर टाढा रहेको छ ।

केके आयात निर्यात हुन्छ ?

पानीजहाज मन्त्रालयको तथ्यांकअनुसार सन् २०२४ मा यस मार्गबाट ​​आयात भएका प्रमुख सामानमा कच्चा तेल, परियोजनाका सामान, कोइला र कोक, वनस्पति तेल र मल पर्छन् । रुसमा निर्यात गरिएका प्रमुख सामानहरूमा प्रशोधित खनिजहरू, फलाम र स्टील, चिया, समुद्री उत्पादनहरू र चिया-कफी समावेश थिए ।

परिमाणका हिसाबले कच्चा तेल, कोइला र कोक, मल, वनस्पति तेल र फलाम तथा स्टिल सबैभन्दा बढी आयात भएका छन् । त्यस्तै, प्रशोधित खनिज, फलाम तथा स्टिल, चिया, ग्रेनाइट र प्राकृतिक ढुङ्गा, प्रशोधित फलफूल र जुस निकासीमा प्रमुख छन् ।

भारतीय रिफाइनरीहरूको वार्षिक मर्मतसम्भारका कारण वर्षको दोस्रो ६ महिनामा कच्चा तेलको आयातमा केही कमी आएको थियो । समग्र आयातमा कमी आए पनि रुसको युराल कच्चा तेलको आयात अक्टोबरमा चार महिनाकै उच्चमा थियो । युराल भारतको रुसी तेल खरिदको मुख्य आधार हो । यो भारतीय रिफाइनरीहरूद्वारा आयात गरिएको रुसी तेलको तीन चौथाई हो । यद्यपि, केही अन्य रुसी कच्चा तेलको आयातमा तीव्र गिरावट आएको छ ।

यसअघि इराक र साउदी अरब सबैभन्दा ठूलो आपूर्तिकर्ता

युक्रेन युद्धअघि इराक र साउदी अरब भारतलाई कच्चा तेलको शीर्ष दुई आपूर्तिकर्ता थिए । तर, जब पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाए, रुसले आफ्नो तेलमा छुट दिन थाल्यो । यसको फाइदा भारतीय रिफाइनरीहरूले उठाए । तर, समयसँगै छुटमा कमी आएको छ । अझै पनि भारतीय रिफाइनरीहरू रुसी तेल किन्न इच्छुक छन् । कारण ठूलो परिमाणमा आयात भएकाले कम छुटमा पनि धेरै बचत हुने गरेको छ ।

भारतका लागि रुससँगको सम्बन्ध केवल तेल व्यापारमा मात्र सीमित छैन । यस सम्बन्धले रुसलाई चीनतर्फको झुकाव कम गर्न पनि मद्दत गर्ने विज्ञहरू बताउँछन् ।

यसैगरी, भारत आणविक पनडुब्बीमा सहयोगका लागि पनि रुसमा निर्भर छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ मा भारत भ्रमण गर्ने कार्यक्रम छ । (एजेन्सीहरूको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.