ग्राहक खोजेर ल्याउनूस्, सहकारी सञ्चालकको जगाा बेचेर बचत फिर्ता गर्छौं : मन्त्री अधिकारी

  २०८१ पुष २ गते ११:४३     विकासन्युज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ग्राहक खोजेर ल्याए सहकारी सञ्चालकको जग्गा बिक्री गरेर बचत फिर्ता गर्ने बताएका छन् । सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले जग्गा खरिद गर्न ग्राहक ल्याए बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका हुन् ।

‘बैंकको मोडल अनुसार सहकारी सञ्चालकले स्रोत देखाएर सम्पत्ति बिक्री गर्छु भन्यो भने पनि हामी सहजीकरण गर्छौं,’ मन्त्री अधिकारी भने, ‘बचतकर्ताले पनि ग्राहक खोजेर ल्याउनु भयो भने हामी सञ्चालकको सम्पति बिक्री गरेर बचत फिर्ता गर्छौं ।’

सबै सहकारी खराब नरहेकाले वितृष्णा फैलाउनु गलत भएको उनको भनाइ छ । सहकारीमा नजोडिएकाहरू नै सहकारी बिग्रियो भनेर भ्रम फैलाउनतर्फ लागेको उनले बताए । साथै आन्दोलन गर्नेको हल्लालाई चिर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘हामी यो यो कामले राम्रो छौं भनेर भन्न आवश्यक छ, सहकारी मर्जर गर्ने पछि डिमर्ज गरिदिनूस् भन्नु राम्रो हो कि नराम्रो ?,’ मन्त्री अधिकारी भने, ‘समस्या समाधानको उपाय निकाल्नुपर्छ, त्यसले नीति बनाउन पनि सजिलो हुन्छ, सहकारीको नेटवर्क परिचालन हुन सकेको छैन ।’

सहकारीका सदस्यमा कार्यक्रम तथा साधारण सभा गएर ५ सय पाउने लोभ रहेको उनले आरोप लगाए । सहकारी ऐन संशोधन विषयमा छलफल भइरहेको र समस्या समाधानका विषय पनि समेटिने उनले बताए ।

सहकारी कोष, कर्जा सूचना केन्द्र, सहकारी न्यायाधिकरण र नियमनको विषयमाथि छलफल भइरहेको उनको भनाइ छ । साथै दुई/तीन वटा सहकारीहरु समस्याग्रस्तमा थपिने तयारीमा रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.