कोरोनाको धक्का अहिलेसम्म भोग्दै होटल, यी हुन् बिजनेस घट्नुको कारण

  २०८१ पुष ३ गते ११:०५     विकासन्युज

काठमाडौं । विश्वव्यापी कोरोना महामारीले होटल तथा पर्यटन क्षेत्रमा ठूलो क्षति गर्‍यो । यही समयमा बैंक तथा वित्तीय क्षेत्रमा ब्याजदर उच्च हुँदा थप समस्या उत्पन्न भएको देखिन्छ । तर, महामारी र ब्याजदर एकल अंकमा झरेपछि भने होटल तथा पर्यटन क्षेत्र विस्तारै तंग्रिदै पुरानै अवस्थामा फर्किरहेको संकेत गरिरहेका छन् । विगतको तुलनामा पर्यटकहरू आवागनमा केही वृद्धि भएर व्यापार व्यवसाय पनि बढेको देखिन्छ ।

नेपाली पुँजी बजारमा विभिन्न ६ होटल कम्पनी सूचीकृत छन् । पुँजी बजारमा कालिञ्चोक दर्शन, ओरिएण्टल होटल्स, चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल्स र सिटी होटल कारोबार भइरहेका छन् भने अन्य थप आधा दर्जन बढी होटल कम्पनी पुँजी बजारमा आउने तयारीमा छन् ।

पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका यी होटल कम्पनीले भोगेका समस्या र चुनौती थुप्रै रहेका छन् । अर्थतन्त्र चलायमानमा योगदान र विदेशी मुद्रा आर्जनमा भूमिका खेलिरहेका यी कम्पनीले के-के समस्या र चुनौती भोग्नु परेको छ भनेर यहाँ खोतल्ने प्रयास गरिएको छ । अधिकांश होटलको समस्या र चुनौती एउटै छन् ।

कालिञ्चोक दर्शनले आर्थिक मन्दी तथा कोरोनाको प्रभाव अझै रहिरहेको, आन्तरिक तथा बाह्य पर्यटकको गतिविधिमा अझै सुधार तथा विस्तार हुन नसकेको, परिर्वतनशील राष्ट्रिय नीति नियमका कारण पर्यटकीय क्षेत्रमा प्रभाव परेको जनाएको छ ।

यस्तै, आर्थिक मन्दी तथा राजनैतिक अवस्थाको प्रभाव, आकस्मिक रूपमा आइपर्ने कुनै पनि असहज परिर्वतन र विदेशी विनियम दरमा आउने परिवर्तनले होटल तथा पर्यटन क्षेत्रमा समस्या र चुनौती थपिएको कालिन्चोक दर्शनको भनाइ छ ।

कम्पनीको साधारण सभाले निर्धारण गरेका तथा नियमावली र प्रबन्धपत्रमा उल्लेखित उद्देश्य पूर्ति गर्न सहायक कम्पनीको स्थापना गरिएको छ र सहायक कम्पनीलाई थप व्यावसायिक प्रयोजनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीमा उपलब्ध सबै संयन्त्र र संरचनाको समुचित उपयोग, सञ्चालन खर्चमा मितव्ययीतासहित अन्य अनावश्यक खर्चहरूलाई कटौती गरी कम्पनीको आम्दानीमा वृद्धि हुने गरी बजार व्यवस्थापन गर्न उच्च प्राथमिकता दिने र सेयर सदस्यहरूका लागि विशेष छुटसहितको नयाँ योजना लागू गर्ने कम्पनीको रणनीति रहेको छ ।

ओरिएण्टल होटल्सले कोरोना भाइरसजस्ता अप्रत्यासित रूपमा देखापर्ने प्रकोपले पर्यटन क्षेत्रलाई असर पार्ने गरेको जनाएको छ । साथै देशमा नयाँ-नयाँ होटलहरू निर्माण भई सञ्चालनमा आउने क्रम बढेको तर सोही अनुपातमा पर्यटकको आगमनमा वृद्धि नभएको, अप्रत्यासित रूपमा घट्ने पर्यटन प्रतिकूलताका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव जस्तै- रसिया युक्रेन र इजराइल र हमास युद्धको असरले होटल तथा पर्यटन क्षेत्रमा प्रभाव पार्ने गरेको होटलको भनाइ छ ।

पर्यटन उद्योगमा देखिने राजनीतिक अशान्ति, अप्रत्यासित रूपमा हुने बन्द हड्ताल, आन्तरिक पर्यटन प्रवर्द्धनको कमी, पर्यटकीय सार्वजनिक यातायातको अभाव तथा अन्तर्राष्ट्रिय हवाइ सिट क्षमतामा न्यूनताबाट प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने गरेको होटलले जनाएको छ । पर्यटन भौतिक पूर्वाधारको विकासको कमी, विदेशी मुद्राको विनिमय दरमा हुने उतार चढाव र पर्यटकहरूलाई नेपाल आवत–जावत गर्ने हवाई भाडा दरमा एक्कासी वृद्धि हुँदा पनि समस्या र चुनौती रहेको ओरिएण्टल होटल्सले जनाएको छ ।

उक्त समस्या तथा चुनौतीसँगै ससक्त बजार व्यबस्थापन, होटलका पाहुनालाई प्रदान गरिने गुणस्तरीय सेवा र सुविधाहरूको निरन्तर स्तरोन्नति, होटलका सेवा सुविधासम्बन्धि भौतिक पूर्वाधार र संरचनाको स्तरवृद्धि वा प्रतिस्थापन गर्ने रणनीति होटलको रहेको छ । लक्ष्य अनुसारको पर्यटन व्यवसायको बजार बिस्तार र सेवालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप निरन्तर परिमार्जन गर्दै सम्भावित नोक्सानी कम गर्ने होटलको रणनीति छ । साथै पुराना ग्राहकहरूलाई विस्तापित हुन नदिने र नयाँ ग्राहकलाई खोजी गर्ने कम्पनीको योजना छ ।

चन्द्रागिरि हिल्सले अप्रत्याशित रूपमा आउने राष्ट्रिय तथा अत्तराष्ट्रिय घटनाहरूको कारणबाट देशको आन्तरिक तथा बाह्य पर्यटन उद्योगमा प्रभाव परेको जनाएको छ । अस्थिर राजनैतिक वातावरणका कारण समग्र अर्थतन्त्रमा पर्ने गरेको, पर्यटकिय पूर्वाधारको विकासमा सरकारको न्यून लगानी र निर्माणधिन कामको पनि सुस्त गतिका कारण आन्तरिक तथा बाह्य पर्यटकको गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारेको, अस्थिर राष्ट्रिय नीतिहरू र नियमबाट विषेश गरी पर्यटकीय क्षेत्रमा असर गरेको होटलको भनाइ छ ।

पर्यटन प्रवर्द्धन पर्यटन सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायको आक्रामक प्रचारप्रसार हुनु पर्नेमा निष्कृयताका कारण कुनै गतिविधि नभएको, आर्थिक गतिविधिमा आएको शिथिलतामा सुधार नभएको र विदेशी विनियम दरमा आउने परिवर्तनले समस्या र चुनौती खेप्नु परेको बताइएको छ ।

विभिन्न रणनीतिको परिणामस्वरूप स्वदेश तथा विदेशवाट भ्रमणमा आउने पर्यटकहरूको बास बस्ने र विभिन्न गोष्ठी, सेमिनार सञ्चालन गर्न आउने व्यक्ति तथा संघसस्थाको संख्यामा निरन्तर वृद्धि भइरहेको, उपलब्ध सबै सुविधाको उच्चतम उपयोग, सञ्चालन खर्चमा मितव्ययीतासहित अन्य अनावश्यक खर्चहरूलाई कटौती गरी आम्दानी बढाउने होटलको प्राथमिकता रहेको छ ।

चन्द्रागिरि हिल्सको भ्रमणलाई हरेक व्यक्तिको जीवनको उत्कृष्ट र अविस्मरणीय बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको कम्पनीले जनाएको छ । पर्यटकहरूका लागि रिसोर्टमा छुटहरूसहितको प्याकेजहरू दिँदा संख्यात्मक वृद्धि हुने अपेक्षा रहेको जनाएको छ ।

सोल्टी होटलले विश्वव्यापी फैलिने स्वास्थ्यसम्बन्धी संक्रामक रोगहरूले व्यावसायिक प्रतिकूलता सिर्जना गरेको जनाएको छ । अप्रत्याशित रूपमा घट्ने पर्यटन प्रतिकूलताका राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना, देशमा पर्यटनसम्बन्धी पर्याप्त भौतिक पूर्वाधारहरूको विकासको कमी, पर्यटकहरूको सुरक्षा, देशको आर्थिक र राजनैतिक अवस्था तथा सम्बन्धित मुलुकबाट जारी गरिने यात्रा प्रतिकूलतासम्बन्धी निर्देशन नै होटल तथा पर्यटन क्षेत्रका चुनौतीका रूपमा देखिएको कम्पनीले जनाएको छ ।

विदेशी विनिमय दर (अमेरिकी डलर र यूरो)मा हुने अप्रत्याशित परिवर्तन, ऊर्जा, विद्युत, इन्धन तथा औद्योगिक पदार्थमा हुने अप्रत्याशित उच्च मूल्य वृद्धि तथा उपभोग्य पदार्थको मूल्य वृद्धि र श्रम समस्याले प्रत्यक्ष तथा अप्रत्यक्ष समस्या निम्त्याएको कम्पनीको भनाइ छ ।

नयाँ होटल सञ्चालनपश्चात् देखापरेको र पर्नसक्ने बढ्दो होटल कोठा आपूर्ति तथा पर्यटन बजारको मागमा आएको उच्च असन्तुलनबाट व्यवसायमा प्रभाव परेको, पर्यटन उद्योगमा देखापर्ने औद्योगिक अशान्ति, अप्रत्याशित रूपमा हुने बन्द हडताल, आन्तरिक पर्यटन प्रवर्द्धनको कमी तथा सर्वसुलभ पर्यटकीय सार्वजनिक यातायातको अभाव तथा अन्तर्राष्ट्रिय हवाई सिट क्षमतामा न्यूनता र देशमा अचानक आइपर्ने असहज परिस्थिति, प्राकृतिक तथा दैवी विपद् तथा प्रकोप नै होटल तथा पर्यटन क्षेत्रका मुख्य चुनौतीका रूपमा देखिएको सोल्टी होटलले जनाएको छ ।

प्राकृतिक विपद तथा महामारीजस्ता दैवी प्रकोपका कारण निम्तिन सक्ने प्रतिकूल परिस्थितिबाट बचाउन वा रोकथामका लागि सरकारबाट जारी गरिने आवश्यक वैधानिक प्रतिबन्धात्मक उपायबाट पर्यटनमा पर्ने प्रतिकूल परिस्थितिहरुमा पनि बैधानिकपूर्ण अनुपालनाहरूका साथ होटल सञ्चालनसम्बन्धी व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दै होटलका पूर्वाधार संरचना र सुविधाहरूलाई पूर्ण क्रियाशील राख्ने होटलको रणनीति छ ।

सञ्चालन खर्च घटाउन सबै व्यावसायिक रणनीतिलाई पूर्ण क्षमतामा प्रयोग गर्दै कम्पनीका सबै संयन्त्रहरुको समुचित सदुपयोग गरी होटलको सञ्चालन तथा व्यवस्थापन न्यूनतम खर्चमा गर्ने, कर्मचारी खर्च र अन्य अनावश्यक खर्चलाई कटौती गर्ने र प्रतिकूल समयमा अनुकूल वातावरण आम्दानी बढाउने योजना छ ।

तारागाउँ रिजेन्सी होटल्सले पर्यटकहरूको सुरक्षा, देशको आर्थिक र राजनीतिक उतारचढाव तथा सम्बन्धित मुलुकबाट जारी हुने यात्रा प्रतिकूलतासम्बन्धी निर्देशनले पार्ने प्रभावलाई मुख्य चुनौतीका रूपमा लिएको छ । युवा जनशक्ति विदेश पलायन भइरहँदा देशभित्र दक्ष कार्यशक्तिको अभाव र होटललाई आवश्यक परेको समयमा कुशल कामदार पाउन जटिल हुने गरेको कम्पनीको भनाइ छ ।

पर्यटन व्यवसाय र मनोरञ्जन क्रियाकलाप अन्तरसम्बन्धित रहेकोमा आधुनिक परिवेशमा आम युवाहरूले खोज्ने आधुनिक मनोरञ्जनका क्रियाकलायप जस्तै सांगीतिक कन्सर्ट, महोत्सव, इन्टरटेनमेन्ट सोहरू सञ्चालन गर्न कानुनी जटिलता झेल्नुपरेको, विलासिता कर लगाउनाले पाँचतारे होटलमा बस्दा ग्राहकको खर्च बढ्ने भएकाले होटलमा स्थानिय तथा स्वदेशी ग्राहकको संख्या कम हुने गरेको होटलले जनाएको छ ।

देशमा नयाँ पाँचतारे होटल खुलेसँगै प्रतिस्पर्धा बढेको तर सोही अनुरूप गुणस्तरीय पर्यटक आगमनमा वृद्धि नभएको, पर्यटनसम्बन्धी भौतिक पूर्वाधारहरूको विकास तथा स्तरोन्नति नहुनु, सर्वसुलभ यातायातको सुविधा नहुनु, विदेशी मुद्राको विनिमयमा भइरहने उतावचढाव, अप्रत्यासित रूपमा पर्यटन क्षेत्रमा हुने श्रम समस्या जसको कारणले आन्तरिक तथा बाह्य पर्यटकमा पर्ने नकारात्मक प्रभावलाई पनि यस होटलले आफ्नो समस्या तथा चुनौतीका रूपमा लिएको छ ।

अप्रत्याशित रूपम घट्ने पर्यटक प्रतिकूलकताका राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरु, प्राकृतिक तथा दैविक प्रकोपहरूको प्रभाव, कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टाका लागि बन्द हुँदा पाँचतारे होटल क्षेत्रमा पाहुनाको आवागमन ढिलाइ, बुकिङ रद्द, आम्दानीमा गिरावट र व्यवस्थापनमा चुनौती थपिएको जनाएको छ ।

होटल परिसरमा कर्पोरेट सभा, सामाजिक, शैक्षिक तथा सांगीतिक कार्यक्रम सञ्चालन गर्न थप आकर्षण बढाउने, सम्भावित प्राकृतिक तथा दैविक प्रकोपहरूबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न विपद व्यवस्थापनलाई मध्यनजर गर्दै प्रतिकूल अवस्थामा पनि व्यवसायको निरन्तरताको लागि आवश्यक कार्य गर्ने, कर्मचारीहरू र अतिथिलाई उच्चस्तरीय सेवा प्रदान गराउन विभिन्न तालिमको आयोजना गर्ने होटलको योजना छ ।

कम्पनीका सबै संयन्त्रको समुचित सदुपयोग गरी होटल सञ्चालन तथा व्यवस्थापन न्युनतम खर्चमा गरी लक्ष्यअनुसारको आम्दानी हासिल गर्ने र नयाँ बजार तथा गुणस्तरीय ग्राहकको खोजी गर्ने कम्पनीको रणनीति छ । ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्दै थप ताजगी तथा नयाँपन प्रदान गर्न होटलको आवश्यक मर्मत, सुधार तथा सम्भार, रंगरोगन आदि जारी राख्ने कम्पनीले जनाएको छ ।

सिटी होटलले अन्य धेरै ब्राण्डेड होटलहरू खोलिने क्रममा जारी रहेको, विलासिता कर लगाउनाले पाँचतारे होटलमा बस्दा लाग्ने खर्च बढेको, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विस्तारका कारण निश्चित समय विमानस्थल बन्द भएकाले पर्यटक आगमन प्रभावित हुने भएकाले होटल तथा पर्यटन क्षेत्रमा असर गरेको जनाएको छ ।

अधिक कपीरेट कार्यक्रम र निजी समारोह आकर्षित गर्न ब्याङ्केट तथा खानपानका सुविधालाई सुधार गर्ने, स्थानीय बजारबाट व्यापार बढाउन ध्यान केन्द्रित गर्ने, स्थानीय व्यवसायहरू र कार्यक्रम आयोजकहरूसँग सहकार्य गरी बैठक, सम्मेलन र विवाह बुकिङ बढाउने र ग्राहकको निरन्तर आगमन सुनिश्चित गर्ने कम्पनीको रणनीतिक योजना छ ।

यस्तै, उच्चस्तरका कार्यक्रमहरू र कपीरेट सभाहरू होस्टिङमा जोड दिने, भारत, चीनजस्ता लक्षित बजार र धार्मिक यात्रामार्फत समग्र राजस्व वृद्धि गर्न ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समय-समयमा समीक्षा गरी सेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्ने, समयअनुसार व्यवसाय वृद्धिको लागि प्रभावकारी बजार रणनीतिमा ध्यान दिने कम्पनीको रणनीति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.