रिलायन्स पावरले पायो ठूलो परियोजना, ऋणमा डुबेका अनिल अम्बानीले राहत पाउने

  २०८१ पुष ३ गते ११:१४     विकासन्युज

काठमाडौं । अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स पावरले ठूलो परियोजना पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिलायन्स पावरको सहायक कम्पनी रिलायन्स एनयू सनटेक प्रालिले ठूलो सौर्य र ब्याट्री भण्डारण परियोजना पाएको हो । ऋणमा डुबेका अनिललाई यस परियोजनाले राहत दिने जनाइएको छ ।

अनिललाई सोलार इनर्जी कर्पोरेशन अफ इन्डिया (एसईसीआई) ले यो परियोजना दिएको हो । यसमा ९३० मेगावाटको सोलार प्लान्ट र ४६५ मेगावाट/१ हजार ८६० मेगावाट घण्टाको ब्याट्री भण्डारण प्रणाली (बीईएसएस) रहेको छ ।

अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स पावरले मंगलबार सम्झौता गरेको घोषणा गरेको हो । यो भारतमा मात्र नभई एसियामा (चीनबाहेक) एउटै स्थानमा ग्रिड भण्डारण ब्याट्रीहरूको सबैभन्दा ठूलो परियोजना हुनेछ । यसले डिस्कमहरूलाई कम लागतमा बिजुली उपलब्ध गराउन मद्दत गर्नेछ ।

रिलायन्स पावरले यो भारतको सबैभन्दा ठूलो सौर्य र ब्याट्री भण्डारण प्रणाली परियोजना भएको बताएको छ । पाँच कम्पनीले २ हजार मेगावाट अन्तरराज्यीय प्रसारण प्रणाली (आईएसटीएस) जडान भएका सौर्य ऊर्जा आयोजना र १ हजार मेगावाट/ ४ हजार मेगावाट ऊर्जा भण्डारण प्रणालीका लागि बोलपत्र दिएका थिए ।

जसमध्ये रिलायन्स पावरको सबैभन्दा बढी हिस्सा रहेको छ । रिलायन्स एनयू सनटेकले डिसेम्बर ९ मा एसईसीआईबाट ९३० मेगावाट सौर्य ऊर्जाको ठेक्का पाएको हो ।

सम्झौताका सर्त के-के छन् ?

यस परियोजनाअन्तर्गत रिलायन्स पावरको सहायक कम्पनीले दैनिक चार घण्टा पीक पावर सप्लाई (वा डिस्चार्ज अवधिको ४ घण्टा) ग्यारेन्टी गर्नेछ । एसईसीआईले रिलायन्स एनयू सनटेकसँग २५ वर्षको लागि पावर पर्चेज एग्रीमेन्ट (पीपीए) गर्ने छ । यसबाट उत्पादित सौर्य उर्जा भारतका धेरै डिस्कममा बेचिनेछ ।

यो परियोजना डिस्कमको लागी एक राहत समाचार हो । अहिले डिस्कमले पावर एक्सचेन्जबाट पीक आवरमा प्रति युनिट १० रुपैयाँमा बिजुली किन्न बाध्य छन् । यो आयोजनाबाट उनीहरूले सस्तो र सुनिश्चित बिजुली पाउनेछन् ।

यदि तपाईंको घरलाई साँझ बढी बिजुली चाहिन्छ भने यो परियोजनाले त्यो समयको लागि अतिरिक्त बिजुली भण्डार गर्नेछ । जस्तै- ठूलो ब्याट्रीले आवश्यक पर्दा बिजुली दिन्छ ।

दुई वर्षयता सेयरमा तीव्र वृद्धि

मंगलबार रिलायन्स पावरको सेयर १.०६ प्रतिशतले घटेर ४६.७३ भारुमा बन्द भयो । बीएसई एनालिटिक्सका अनुसार २०२४ मा रिलायन्स पावरको सेयर हालसम्म ९४.३६ प्रतिशत बढेको छ । यससँगै विगत २ वर्षमा १९४.६२ प्रतिशत प्रतिफल दिएको छ ।

यो परियोजना रिलायन्स पावरको लागि ठूलो उपलब्धि हो र यसले भारतको नवीकरणीय ऊर्जा लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ । साथै यसबाट विद्युत् आपूर्तिमा पनि सुधार हुने र डिस्कमलाई पनि फाइदा हुनेछ ।

रिलायन्स पावर भारतको सबैभन्दा ठूलो निजी क्षेत्रको कम्पनी हो । यसमा कोइला, ग्यास, जलविद्युत र नवीकरणीय ऊर्जाको ठूलो पोर्टफोलियो छ । रिलायन्स पावरको स्थापना क्षमता ५ हजार ३ सय मेगावाट छ । (एजेन्सीहरूको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.