वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म गार्डियन माइक्रोमा आवेदन दिन पाउने

  २०८१ पुष ३ गते ११:४१     विकासन्युज

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज पुस ३ गते अन्तिम दिन हो ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री जारी गरिएको हो ।

यस्तै, ३ प्रतिशत अर्थात् ६७ हजार ५ सय कित्ता कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरूले आईपीओमा आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.