‘तामाकोशीबाट विद्युत आउनासाथ उद्योग क्षेत्रलाई पनि सहज हुन्छ’

  २०८१ पुष ३ गते १३:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत कटौती गर्नुपरेको स्पष्ट पारेका छन् ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरू मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताएका हुन् ।

उनले ट्रान्समिसन लाइनहरूको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगमा विद्युत कटौती गर्नुपरेको जानकारी दिए ।

धेरै विद्युत खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत आयात गर्न नदिएको उनको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले ४५६ मेगावट क्षमता रहेको अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताए ।

उनले अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरूपले सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले अहिले नेपालमा १६०० मेगावाट मात्र विद्युत उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको बताए ।

उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगमा विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले अन्य विभिन्न ट्रान्समिसन लाइनहरूमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भएपनि मुख्य कारण अप्पर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको बताए ।

तामाकोशीबाट विद्युत आउना साथ उद्योग क्षेत्रलाई सहज हुने उनको भनाइ छ ।

उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए । उनले पिक समयमा भने उद्योगहरूमा विद्युत कटौती नगरी सुख्खायाममा नागरिकलाई विद्युत आपूर्ति गर्न नसकिने बताए ।

उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.