अध्यक्ष जेलमा, सीईओ चेपुवामा

  २०८१ पुष ३ गते १५:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वनियमनमा सञ्चालित सहकारी क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आलोचना भएको छ । सहकारीको बचत ठगीको आरोपमा हाल पुर्पक्षका लागि हिरासतमा रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलाई अध्यक्षबाट हटाउन हस्तक्षेप गरेको भन्दै सहकारीकर्मीले राष्ट्र बैंकको आलोचना गरेका हुन् ।

२०७९ पुसमा दोस्रो कार्यकालका लागि बैंकको अध्यक्ष बनेका उप्रेतीलाई प्रहरीले सहकारीको बचत ठगीको आरोपमा गत असारमा पक्राउ गरेको थियो । हाल उनी पुर्पक्षका लागि हिरासतमै छन् । तर, नेपाल राष्ट्र बैंकले भने साधारणसभाबाट अध्यक्ष बनेका उप्रेतीलाई हटाएर सहकारी क्षेत्रमाथि नै हस्तक्षेप गरेको भन्दै आलोचना गरेका हुन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्वअध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार केशब बडालले उप्रेतीको कमजोरी नै भएको भएपनि अध्यक्षबाट हटाउन नहुने धारणा राखे । बुधबार राष्ट्रिय सहकारी बैंकको २१औं साधारणसभामा बोल्दै उनले सहकारीको स्वायत्त र स्वतन्त्रता गुम्न नदिन सबैले समन्वय गर्नुपर्ने धारणा राखे ।

यस्तै, राष्ट्रिय सहकारी बैंकका सल्लाहकार लीलामणि पोखरेलले पनि नेपाल राष्ट्र बैंकले बैंकको अध्यक्ष र सञ्चालकलाई हटाएर सहकारीमाथि नै हस्तक्षेप गरेको धारणा राखे ।

‘सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बामध्ये एक महत्त्वपूर्ण खम्बा हो, हामी सहकारी क्षेत्रमा स्वनियमनको कुरा गर्छौं । तर, सहकारी बैंकका अध्यक्षलाई राष्ट्र बैंकले हटाउने अवस्था किन आयो ?,’ उनले प्रश्न गर्दै भने, ‘बोर्डमा कति जना राख्ने, कसलाई अध्यक्ष बनाउने भनेर राष्ट्र बैंकले निर्देशन दिने हो ?’

उनले अर्थतन्त्रको एउटा खम्बामा सरकारको प्रत्यक्ष हस्तक्षेप देखिएको धारणा राखे । वर्तमान समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ ।

पोखरेलले अध्यक्ष जेलमा रहेको अवस्थामा राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा उच्च व्यवस्थापनलाई चेपुवामा राखेको दाबी पनि गरे । अहिले बैंकको व्यवस्थापकीय नेतृत्व बद्री गुरागाईंले गरिरहेका छन् ।

उनले अझै पनि केही सञ्चालकलाई १५ दिनभित्र हटाउनु भनेर राष्ट्र बैंकले निर्देशन दिएको बताउँदै त्यो यस्ता कमजोरीलाई समाधान गर्दै लैजानुपर्ने धारणा राखे ।

नयाँ अध्यक्ष बने गिरी

नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीलाई हटाउन निर्देशन दिएसँगै बैंकका सञ्चालक महेन्द्र गिरी नयाँ अध्यक्ष बनेका छन् । सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष बनाउने निर्णय गरेसँगै बैंकको साधारणसभाले त्यसलाई अनुमोदन पनि गरिसकेको छ ।

गिरी झापाको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । अब सहकारी बैंकको बोर्डको नेतृत्व गर्ने जिम्मेवारी पनि उनको काँधमा आइपुगेको छ ।

नवनियुक्त अध्यक्ष गिरीले आफ्नोसामु ठूलो चुनौती रहेको बताउँदै आगामी असारसम्म बैंकलाई एउटा उचाइमा पुर्याउन भूमिका खेल्ने धारणा राखे ।

‘हामीले आन्तरिक व्यवस्थापन नगरेर सुख छैन, बैंकलाई बचाउन सदस्यको भूमिका महत्वपूर्ण हुन्छ, अब मेरो नेतृत्वमा पुससभरि सुझाव संकलन गरेर आगामी असारसम्म राम्रो नतिजा आउने गरि काम गर्छु,’ उनले भने ।

राष्ट्र बैंकले अझैं पनि ५/६ जना सञ्चालकलाई हटाउन निर्देशन दिएको जानकारी दिए । ‘केही दिनभित्र ५/६ जनालाई हटाउनु भनेर राष्ट्र बैंकले निर्देशन दिएको छ, यसमा सञ्चालक समिति र सल्लाहकारहरुले पनि साथ दिनु हुनेछ भन्ने अपेक्षा छ,’ उनले भने ।

बैंकमा पूर्णरुपमा शुसासन कायम गर्नका लागि बैंकभित्र राजनीतिको अन्त्य गर्ने उद्घोष उनले गरेका छन् । उनले बैंकको खराब कर्जा बढेको बताउँदै खराब अवस्थामा रहेको २०/२५ वटा कर्जामध्ये ८/१० वटाको समस्या समाधान भइसकेको र अझैं समाधान हुने प्रक्रियामा रहेको जानकारी दिए ।

‘मलाई बैंकको अध्यक्ष भएर केही लिनु छैन, इज्जत जोगाउनु छ,’ उनले भने ।

राष्ट्र बैंकले भने सहकारी बैंक आफ्नो नियमनमा रहेको कारणले अध्यक्षलाई हटाउन निर्देशन दिनु परेको बताएको छ । ‘राष्ट्रिय सहकारी बैंक राष्ट्र बैंकको पनि नियमनमा पर्छ, हामीले आफ्नो नियमनभित्र रहेको संस्थाको वित्तीय स्थायित्व तथा वित्तीय स्वच्छताको लागि काम गर्नुपर्ने हुन्छ, केही समस्या देखिएपछि सो संस्थाका अध्यक्ष तथा केही सञ्चालकलाई बैंक छोड्नु भनेर निर्देशन दिइएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट बैंकिङ कारोबारको इजाजत लिएकोले बैंकको वित्तीय कारोबारको अनुगमन तथा निरीक्षण नेपाल राष्ट्र बैंकले गर्दै आएको छ ।

हाल जेलमा रहेका उप्रेती आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । हाम्रो सगरमाथा, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था मर्ज भएर ‘आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था’ बनेको थियो । यही संस्थाको बचत ठगीको आरोप लागेर प्रहरीले उनलाई पक्राउ गरेको थियो । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । सो सहकारीका अन्य सञ्चालक पनि अहिले फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.