२०८१ पुष ३ गते १९:०२ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कयौं उतारचढावका बीच पनि नेपालको बैंकिङ स्थिर रहेको बताएका छन् ।
बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले भने, ‘बैंकिङ क्षेत्रमा जे-जस्ता परिवर्तन भएपनि राष्ट्र बैंकको काम भनेको बैंकिङ क्षेत्रलाई सुरक्षित राख्नु हो । विगतमा भूकम्प, कोरोना महामारी जस्ता चुनौती भोग्नु पर्यो । कयौं उतारचढावका बीच पनि नेपालको बैंकिङ स्थिर छ । यस्ता थुप्रै चुनौतीका बीच पनि कुनै क्षति हुन दिएनौं ।’
उनले नेपालको बैंकिङ क्षेत्रलाई गर्व गर्नुपर्ने बताए ।
गभर्नर अधिकारीले बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको बताए ।
उनले भने, ‘बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको हो । सेयरधनीले लाभांश बढी खान्छ भनेर प्रोभिजन गर्न लगाएको होइन । खराब कर्जा बढ्दो छ । यसलाई कम गर्न सबै गर्न लगाइएको हो ।’
उनले ब्याजदर सस्तो हुँदा पनि कर्जा असुली नभएको बेलामा रेमिट्यान्स आउँदा सहज भएको बताए ।
गभर्नर अधिकारीले बैंकरहरूका लागि रिकोभरी नै मुख्य चुनौती रहनुका साथै साइबर सेक्युरिटी पनि अर्को चुनौती रहेको बताए ।
उनले राष्ट्र बैंकको एउटै नीति सधैं नरहने र राष्ट्र बैंकले पनि समय परिस्थितिको आधारमा नीतिगत व्यवस्था परिवर्तन गर्दै आएको बताए ।
बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले सन्तोष काेइरालालाई संघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए।
कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.