२०८१ पुष ४ गते १४:५२ विकासन्युज
काठमाडौं । पछिल्लो समय बैंकहरूमा देखिएको अधिक तरलता र वृद्धि भइरहेको खराब कर्जा व्यवस्थापन बैंकहरुलाई प्रमुख चुनौति बनेको छ । ऋण असुलीमा पनि ठूलो चुनौति देखिएको छ । ऋण तिर्नु पर्दैन भन्ने अभियान सञ्चालनका कारण बैंकहरूबाट लिएको कर्जा समयमा नै बुझाउन नगएको अवस्था छ ।
बैंकहरूले कर्जा असुली गर्न नसक्दा दिन प्रतिदिन बैंकहरूको खराब कर्जामा पनि वृद्धि हुने देखिएको छ । तीन चार वर्ष पहिला १ प्रतिशत रहेको बैंकहरूको एनपीए पछिल्लो समय अधिकांश बैंकहरूको ४ प्रतिशत माथि पुगेको छ । बैंकहरूमा एनपीए वृद्धि हुँदै जानु बैंकहरूको लागि ठूलो चुनौति हो । यसले अझ खराब कर्जा वृद्धि गर्ने, ऋण असुलीमा समस्या हुनसक्छ ।
अर्थतन्त्रको शिथिलता कम हुन नसक्दा बैंकिङ क्षेत्रमा समस्या झनै बढ्दो क्रममा देखिएको छ । निजी क्षेत्रको मनोबल बढ्न नसक्दा बैंकहरूले उठाएको कर्जा असुली गर्न सकिरहेका छैनन् । ब्याजदर निकै न्युन हुँदा पनि असुलीमा सुधार हुन सकेको छैन । बैंकहरूको निक्षेप बढ्दा कर्जाको माग न्युन छ । बैंकहरूमा विगतमा प्रवाह भएको कर्जाबाट नियमित सावाँब्याज उठ्न नसक्दा निष्क्रिय कर्जा बढ्दै गएको हो ।
बैंकहरूको निष्क्रिय कर्जा उच्च रुपमा बढ्दै जाँदा त्यसको असर गैरबैंकिङ सम्पतीमा परेको बैंकर्सहरूको भनाई छ । अर्थतन्त्रमा छाएको संकुचनको असर बैंकहरूको रिकभरीमा पर्नसक्ने चिन्ता पनि उत्तिकै देखिन्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा ३.४० प्रतिशत रहेको छ । आर्थिक २०७९/८० को पहिलो त्रैमासमा बैंकहरूको औषत खराब कर्जा १. ६६ प्रतिशत रहेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा वाणिज्य बैंकहरूको खराब कर्जा १०३ प्रतिशतले बढेको देखिन्छ ।
७ खर्ब बढी लगानीयोग्य रकम तर बजारमा छैन कर्जाको माग
कर्जाको ब्याजदर एकल बिन्दुमा झरेपनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औषत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो समय बैंकहरूमा अधिक तरलता थुप्रिएको छ ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटेपनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन् । चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैंकहरूमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । बैंकहरूलाई यति बेला खराकर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौति देखिएको छ ।
बैंकहरुमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरूमा समस्या आउनसक्ने बैंकर्सहरूले बताएका छन् । उनीहरूले नेपालको बैंक तथा वित्तीय क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै पछिल्लो समय बैंकहरूमा थुप्रिएको ७ खर्ब रकम व्यवस्थापन गर्न नसके आगामी दिन झनै बैंकहरूलाई अफ्ठ्यारो पर्ने बताएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि बेवास्था गरेको उनीहरूको भनाई छ ।
पछिल्लो बैंकहरू चुनौतिपूर्ण अवस्थामा कठिन रुपमा बाँचिरहेको बैंकरहरूले बताए । बैंकहरूमा देखिएको चुनौति समाधानको लागि तरलता व्यवस्थापनको वातावरण राष्ट्र बैंकले गर्न आवश्यक देखिएको उल्लेख गरे । बैंकर्सहरूले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न समेत नसकेको आरोप लगाए । बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाउँदा बैंकहरू समस्यामा परेको बैंकर्सहरूको भनाई थियो ।
नेपाल बैंकर्स संघका निःर्वतमान अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले अहिले बैंकिङ क्षेत्र चुनौतिपूर्ण अवस्थामा रहेको बताए । उनले अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा माग बढ्न नसक्दा बैंकिङ क्षेत्रले सकस भोग्नुपरेको बताए । बैंकहरूमा तरलतामा देखिएको असमानताले पनि बैकहरूमा समस्या पारेको दाबी गरे । अहिले बैंकहरूमा सात सय अर्ब लगानीयोग्य रकम बोकेर बसेको जानकारी दिए ।
उनले भने, ‘ विशेषगरी आर्थिक गतिविधि अवस्थाको इनब्यालेन्स र लगातार अस्थिर राजनीतिको कारणले मुलुकमा अर्थतन्त्र स्लोडाउन,आर्थिक वृद्धि न्युन हुने र कर्जाको माग घट्दै जाँदा चुनौतिपूर्ण समय छौं । बैंकहरूमा मुख्य रुपमा तीन समस्या देखेका छौं ।’
उनले बैंकहरूमा बेलाबेलामा तरलता कहिले बढी हुने कहिले कम हुने अवस्थाले आगामी दिनमा बैंकहरूमा थप समस्या निम्त्याउने जोखिम देखिएको बताए । अस्थिर राजनीति, अर्थतन्त्रमा आएको सिथिलता, वाह्य दबाब, कर्मचारी बाहिरिने तथा विदेश पलायन जस्ता समस्याले बैंकिङ क्षेत्रमा ठूलो चुनौति देखापरेको बताए । यस्ता समस्याको कारणले बैंकहरूको रिटर्न अन इक्विटी घटेर ९ प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिए ।
उनले भने, ‘बैंकहरूले अहिले ७ सय अर्बको तरलता लिएर बसेका छौं । जुन रकमको व्यवस्थापन गर्न नसक्दा भोलिको दिनमा थप जोखिममा पुग्ने अवस्था देखिरहेका छौं ।’
उनले चालु आर्थिक वर्षको चार महिनाको रिपोर्ट हेर्दा बैंकहरूको ४ प्रतिशत माथि खराब कर्जा पुगेको बताए । दक्षिण एशियाका मुलुकहरू हेर्दा एनपीएमा नेपाल राम्रो अवस्थामा बताए । बेलाबेलामा हुने कर्मचारी प्रतिको धरपकड लगायत वाह्य दबाबलाई सरकारले नियन्त्रण गर्न नसक्दा बैंकहरू अफ्ठ्यारो अवस्थामा पुगेको जानकारी दिए ।
संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोईरालाले पनि नेपालका बैंकहरू चुनौतिपूर्ण अवस्थामा रहेको बताए । उनले बैंकहरूमा रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरू रहेको बताए । बैंक तथा वित्तीय संस्थाहरुमा संस्था भित्रैबाट बलियो स्थितिमा रहेको बताए । तथ्यांकमा बैंकिङ क्षेत्र मध्यमस्तरको देखिने र समस्यै समस्या रहेको बुझाइ भएपनि आधारभुत रुपमा बैंकिङ क्षेत्र दृढ स्थितिमा रहेको उल्लेख गरे ।
अध्यक्ष कोईरालाले बैंकिङ क्षेत्रमा देखिएका वर्तमान समस्याहरूलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनी नेपाल राष्ट्र बैंकले गर्दै आएको नियामकीय व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्र सबल बनाउने उद्देश्य राखेर आउने गरेको उल्लेख गरे ।
उनले भने, ‘बैंकिङ क्षेत्रमा धेरै समस्याहरू छन् । जसमा बैंकहरूमा रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरू रहेका छन् । तर यी सबै समस्यालाई चिरेर अघि बढ्नुपर्ने अवस्था छ । राष्ट्र बैंकबाट पछिल्लो समय आएका रेगुलेसन हुँदै आएका परिमार्जनले बैंकिङ उद्योगलाई दक्षिण एशियामा बलियो बनेको छ ।’
उनले राष्ट्र बैंकको भुमिकाले नेपाली बैंकहरूलाई दक्षिण एशियामै मजबुत बैंकिङ बनाउन सफल भएको बताए । नेपाली बैंकहरूले विवेकी बैंकिङ गर्दै आएकाले सुशासनका आधारमा अब्बल बन्दै आएको दाबी गरे । उनले बैंकहरूको प्रतिफलमा राम्रो नदेखिए पनि भित्रि रुपमा सबल रहेको जिकिर गरे । अध्यक्षका रुपमा बैंकिङ क्षेत्रको समस्या समाधानको लागि आफू कटिबद्ध रहने प्रतिवद्धता जनाए ।
पूर्वबैंकर राजनसिंह भण्डारीले बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको आरोप लगाए । उनले राष्ट्र बैंकले बैंकका कार्यकारी अधिकृत, अध्यक्षसँगको छलफलमा लाभांशको धेरै आशा नगर्र्न भन्ने गरेको बताए ।
बैंकहरूले सुशासनलाई उच्च प्राथमिकतामा राखेर राष्ट्र बैंकका निर्देशन पूर्णपालना गरी उच्चदरमा लाभांश बाड्ने बैंकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
बैंकर्सहरुले बैंकलाई सबल र सक्षम बनाउनको लागि सबै क्षेत्रको सहयोग साथ आवश्यक रहेको बताए । उनीहरूले बैंकहरू पछिल्लो समय देखिएका समस्या समाधानको लागि सरकारले आर्थिक गतिविधिलाई चलायमान बनाउँदै लगानीको वातारण बनाउनुपर्नेमा जोड दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Tetro barsa lagani thapeko thapei garera investors lai jilla ram. Bank haru ko top management salary, unnecessary branch operation cost ra aru direct/indirect cost ghataunu parne nai bho aba jaba samma investors le atleast 15% return paudainan.