२०८१ पुष ४ गते १५:२८ विकासन्युज
काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक (फेड)ले नीतिगत ब्याजदरमा ०.२५ प्रतिशतले कटौती गरेको छ । साथै अर्को वर्ष दुईपटक मात्र कटौती गर्ने संकेत दिएको छ । यसअघि सेप्टेम्बरमा अर्को वर्ष चार पटक ब्याजदर घटाउन सकिने बताएको थियो ।
फेडले ब्याजदरमा कटाैती गर्ने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । डाउ जोन्स इन्डस्ट्रियल औसत १ हजार १२३ अंकले घटेको छ । यो परिसूचकमा लगातार दशौं गिरावट आएको छ ।
सन् १९७४ पछि यति लामो अवधिसम्म सूचकांक घटेको यो पहिलो पटक हो । एस एन्ड पी फाइभ हन्ड्रेड ३ प्रतिशत र नासडक कम्पोजिट सूचकांक ३.६ प्रतिशतले घट्यो । यसले अमेरिकाका शीर्ष धनीहरूको नेटवर्थमा लगभग ७५ बिलियनको गिरावट ल्याएको छ ।
एलन मस्क
बुधबार अमेरिकी सेयर बजारमा आएको गिरावटका कारण एलन मस्कले सबैभन्दा धेरै घाटा बेहोरेका छन् । टेस्ला, स्पेसएक्स र एक्स लगायतका धेरै कम्पनीहरू सञ्चालन गर्ने मस्कको कुल सम्पत्ति एकै झट्कामा २८.४ बिलियन डलरले झरेर ४५८ बिलियन डलर पुगेको छ । टेस्लाको सेयर ८.२८ प्रतिशतले घटेको छ । विश्वकै धनी व्यक्ति मस्कको यस कम्पनीमा करिब २३ प्रतिशत सेयर रहेको छ ।
जेफ बेजोस
अमेजनका सह-संस्थापक जेफ बेजोसको कुल सम्पत्ति बुधबार ९.७२ बिलियन डलरले घटेको छ । अमेजनको सेयर ४.६० प्रतिशतले घटेर बन्द भयो । बेजोसको कुल सम्पत्ति अहिले २४० अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ६३.२ बिलियन डलरले बढेको छ ।
मार्क जुकरबर्ग
विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्गको कुल सम्पत्ति ७ अर्ब ६९ करोड डलरले घटेको छ । उनी २११ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ८३.२ बिलियनले बढेको छ ।
ल्यारी एलिसन
सफ्टवेयर कम्पनी ओरेकल कर्पोरेशनका सह-संस्थापक ल्यारी एलिसनलाई बुधबार ५.५३ अर्ब डलरको झटका लागेको छ । अहिले उनको कुल सम्पत्ति १८८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ६४.९ बिलियन डलरले बढेको छ ।
ल्यारी पेज
ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गुगलका संस्थापक ल्यारी पेजको नेटवर्थ बुधबार ५.५३ बिलियन डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले १६८ अर्ब डलर पुगेको छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा छैटौं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ४१.९ बिलियन डलरले बढेको छ ।
बिल गेट्स
माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सको २.६२ बिलियन डलरको गिरावट आएको छ । उनी विश्वका धनी व्यक्तिको सूचीमा सातौं नम्बरमा छन् । अहिले उनको कुल सम्पत्ति १६२ अर्ब डलर छ । यो वर्ष उनको सम्पत्ति २१.५ अर्ब डलरले बढेको छ । बुधबार कम्पनीको सेयर ३.७६ प्रतिशतले घटेको छ ।
सर्गेई ब्रिन
सेयर बजारमा आएको गिरावटका कारण गुगलका सहसंस्थापक सर्गेई ब्रिनको कुल सम्पत्ति ५.१५ अर्ब डलरले घटेको छ । अहिले उनको कुल सम्पत्ति १५८ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा आठौं नम्बरमा छन् । यो वर्ष उनको सम्पत्ति ३८.३ अर्ब डलरले बढेको छ । बुधबार गुगलको मूल कम्पनी अल्फाबेटको सेयर ३.५४ प्रतिशतले घटेको छ ।
स्टिभ बाल्मर
माइक्रोसफ्टका पूर्व सीईओ र कम्पनीका प्रारम्भिक कर्मचारीहरूमध्ये एक स्टिभ बाल्मरले बुधबार ५.४७ बिलियन डलर गुमाए । उनको कुल सम्पत्ति अहिले १५२ अर्ब डलर छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा नवौं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति २०.९ बिलियन डलरले बढेको छ ।
वारेन बफेट
प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेटको कुल सम्पत्ति बिहीबार २.७६ बिलियन डलरले घटेको छ । उनी १४० अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १० औं स्थानमा छन् । बफेटको कुल सम्पत्ति यस वर्ष २०.३ बिलियन डलरले बढेको छ।
माइकल डेल
डेल कर्पोरेशनका संस्थापक माइकल डेलको नेटवर्थ बुधबार ५.८३ अर्ब डलरले घटेको छ । उनी १२२ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ४३.१ अर्ब डलरले बढेको छ । बुधवार डेलको सेयर ४.७४ प्रतिशतले घटेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.